Logo

अमरनारायण मन्दिर क्षेत्र संरक्षण



पाल्पा, १६ जेठ : तानसेन नगरपालिकाले तानसेनस्थित ऐतिहासिक अमरनारायण मन्दिर क्षेत्रको संरक्षण गर्न लागेको छ । मन्दिर क्षेत्रको जग्गामा स्थानीय बासिन्दाबाट अतिक्रमण भई मकैखेती गर्न थालेसँगै संरक्षण थालिएको हो ।

चालु आव २०७६। ०७७ मा तानसेन नगरपालिकाको रु ११ लाख २५ हजार बजेटमा मन्दिर आसपास क्षेत्रमा तारजाली लगाई जथाभावी प्रवेशलाई रोकिएको हो । तानसेन २ का वडाध्यक्ष वरुण रेग्मीले उत्तरतर्फको नापी कार्यालयदेखि धवल पुस्तकालयसम्मको क्षेत्रमा तारबार गरी फोहोर फाल्न र मन्दिर क्षेत्रमा जथाभावी रुपमा प्रवेश रोकिएको बताउनुभयो । “आठ फिटको तारजाली लगाउने गरी काम शुरु भएको छ । तारजाली नाघेर फोहोर फाल्ने काम रोकिने छ”, वडाध्यक्ष रेग्मीले भन्नुभयो ।

चालु आवमै मन्दिर क्षेत्रमै हनुमान र नौग्रहको मन्दिर पनि निर्माण गरिएको छ । मन्दिर क्षेत्रको करीब २७ रोपनी जग्गामा १२ टोलविकास संस्थाले फलफूल रोपी सुन्दर बनाउने कार्यक्रम छ । नापी कार्यालयदेखि धवल पुस्तकालयसम्मको भागमा बढी मात्रामा फोहोर छ । तानसेनको भित्री क्षेत्र रहेकाले फोहोर उठाउन गाडी नजाने हुँदा फोहोर मन्दिर क्षेत्रमा फाल्न बाध्य भएको स्थानीयबासिन्दाको गुनासो छ । मन्दिर क्षेत्रमा रहेको उद्यानमा एक स्थानबाट मात्र प्रवेश गर्ने र चौकीदारको व्यवस्था भएमा मन्दिर क्षेत्र संरक्षण हुने वडाध्यक्ष रेग्मीले बताउनुभयो ।

तारजाली लगाउने काम अघि बढे पनि पोखरी निर्माणको काम बन्दाबन्दी कारण समस्यामा परेको छ । ढुवानी गरी सामान ल्याउनुपर्ने बाध्यताका कारण पोखरी निर्माणको काम अधुरो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कोइरालाले बताउनुभयो ।

काजी अमरसिंह थापाले विसं १८६३ मा कलात्मक अमरनारायणको मन्दिर निर्माण गरी विसं १८७८ देखि अमरनारायणको रथयात्रा गर्ने परम्परा बसालेका थिए् । भाद्रकृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिन रथ निकाली जात्रा गर्ने परम्परा छ । यसलाई पाल्पा जिल्लाको नै अन्तिम जात्राका रुपमा लिइन्छ ।रासस



प्रतिक्रिया दिनुहोस्