Logo

ओली, देउवा र प्रचण्डलाई ऋषि धमलाको प्रश्न : ‘रुकुमपश्चिमको घट्नामा तपाईहरु किन बोल्नुहुन्न ?, दोषीलाई कडा कारवाही गर्नुहोस’



काठमाडौं, १६ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रुकुमपश्चिम घट्नाको जति निन्दा गरेपनि कम हुने भन्दै घट्नामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।

रुकुमको चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग राख्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपालका पदाधिकारीहरुले आज शरिरमा कात्रो कात्रो र दुवै हात बाँधेर ‘सरकार अँध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ’ भन्ने नारासहित काठमाडौँको माईतिघर मण्डलामा विरोध प्रदर्शन गरेको कार्यक्रममा सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । उनले यो घट्नामा शीर्ष नेताहरुले अहिलेसम्म किन नबोलेको भन्दै प्रश्नसमेत तेर्साएका छन् ।

धमलाले भने,’आज रुकुमपश्चिम घट्ना भएको यत्तिका दिन बितिसक्यो, तर यो घट्नाको सम्बन्धमा शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड तपाईहरु किन बोल्नुहुन्न ? दोषी उम्किनुहुँदैन् । जनार्दन शर्मा र शक्ति बस्नेतले आफ्नो कुरा राख्नुपर्यो ।’ उनले घट्नामा संलग्न दोषीलाई सजाय र पीडितलाई न्याय दिने कुरामा कुनै सम्झौता नगर्न सरकारलाई सजग गराएका छन् ।

उनले पीडितले न्याय नपाएसम्म यो आन्दोलन नरोकिनेपनि स्पष्ट पारे । उनले भने,’आजको एक्काईसौं शताब्दीमा आएर जातीय विभेदको आधारमा यस्तो घट्ना घट्नु दुःखद् छ । यसको जतिनै निन्दा गरेपनि कम हुन्छ । हामीले संविधान र कानूनमै सबै किसिमको जातीय विभेद र भेदभाव अन्त्य गर्यौं, तर व्यवहारमै अन्त्य गर्न सकेका छैनौं । कानून र संविधानमा नै लेखेको कुरालाई कार्यान्वयनको लागि नवराज बिक, उनीसँगै गएकाहरुको हत्यामा संलग्न दोषीहरुलाई कडा कारबाही गर्नुपर्छ । यसमा राजनीतिकरण गर्नुहुँदैन् । नेताहरुले हामी कारबाही गर्छौं भनेर भन्नुपर्यो । खोई नेताहरु बोलेका ?’

रुकुमपश्चिम घट्ना : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)



प्रतिक्रिया दिनुहोस्