Logo

आर्थिक वर्ष २०७७/७८ को बजेट : आयकरमा छुटै छुट



जेठ १६, काठमाण्डौ । सरकारले नयाँ आर्थिक वर्ष २०७७÷७८ को बजेट विहिबार अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरे । सरकारले व्यवसायीहरुलाई लाग्दै आएको आयकरमा ठूलो मात्रामा छुट दिएको छ भने जनतालाई भने खासै सहुलियत भने यो बजेटमा पनि उपलव्ध भएन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाखसम्म कारोवार गर्ने करदातालाई ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । त्यसैगरी ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोवार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उद्यमीले सञ्चालन गरेका लघु उद्यमलाई तीन वर्ष थप गरी १० वर्ष सम्मको समय दिएको छ ।

लघु बीममा लाग्दै आएको मूल्य अभिवृद्धि करलाई समेत हटाइएको छ । लघु, घरेलु तथा साना उद्योग, कृषि, पशुपक्षीपालन, पशु उपचार र मास्क बनाउने उद्योगले पैठारी गर्ने मेशिनरी तथा कच्चापदार्थ एवं कृषि फार्म तथा कम्पनीले पैठारी गर्ने कृषियन्त्र उपकरण तथा धान, मकै, गहुँ र तरकारीको बीउ पैठारी गर्दा लाग्ने भन्सार महशुल सरकारले छुट दिएको छ ।

प्राथमिक कृषिउपजको पैठारीमा लाग्दै आएको भन्सार महशुल तथा कृषि सुधार शुल्क वृद्धि गरिएको छ । कोरोनाका कारण बढी प्रभावित भएका हवाई सेवा, यातायात सेवा, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायीलाई चालू आवको आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट दिइएको छ । पर्यटन, ढुवानी व्यवसायी तथा चलचित्र घरलाई मूल्यवृद्धि कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक बनाइएको छ ।

औषधि उद्योगलाई आवश्यकपर्ने कच्चपदार्थको पैठारीमा मूल्य अभिवृद्धिकर छुट दिई त्यस्ता वस्तु स्वदेशी उद्योगीबाट खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता दिइने व्यवस्थासमेत मिलाइएको छ । बजेटले आयुर्वेदिक कच्चा पदार्थको भन्सार शुल्क हटाएको छ । स्यानिटाइजरको कच्चा पदार्थका रुपमा प्रयोग हुने आन्तरिक उत्पादनको इथानोल तथा पिपिईएमा अन्तःशुल्क छुट दिइएको छ ।

इन्टरनेट सेवा प्रदायकले फिक्स्ड ब्रोडव्याण्ड सेवा प्रदान गर्दा ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिइने भएको छ भने रेडियो तथा टेलिभिजन प्रसारण संस्थाले तिर्नुपर्ने कारोवार रकमको दुई प्रतिशत सेवा शुल्क घटाएर एक प्रतिशत कायम गरिएको छ । सरकारले मूल्य अभिवृद्धि करको दर यथावत् राखेको छ भने अन्तः शुल्क र भन्सारका केही दरलाई भने समायोजन गरेको छ । चुरोट, सिगार, गुटखा, पान मसलामा स्वास्थ्य जोखिम करमा वृद्धि गरिएको छ ।

हवाई इन्धन, एलपी ग्यासबाहेकको पेट्रोलियम पदार्थ र सुन तथा सुनको गहनामा लाग्ने भन्सार महशुलमा वृद्धि गरिएको छ । सामुदायिक वनले साल र खयर जातका काठ उपभोक्ता समूह बाहिर बिक्री गर्दा लाग्दै आएको १५ प्रतिशत वन पैदावार शुल्क १५ गते जेठकै मितिदेखि खारेज गरिएको छ ।

स्वदेशी फर्निचरको संरक्षण गर्न सबै प्रकारको फर्निचर पैठारीमा अन्तःशुल्क लगाइएको छ । औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना हुने विशेष उद्योगलाई कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरमा छुट दिइएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समूहलाई आयकर नलाग्ने व्यवस्था गरी चालू आवमा निर्धारण भएको आयकर मिनाहा गरिएको छ । राजश्व छली तथा चुहावटलाई नियन्त्रण गर्दै गैर कर राजस्वको दायरमा विस्तार गर्दै दरलाई पुनरावलोकन गरिने बजेटमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्