Logo

पारस्परिक सम्मानका आधारमा अघि बढ्छौँ : भारत



काठमाडौँ, १७ जेठ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ ।

उसले त्यस क्षेत्रमा पछिल्लो समय नेपालले गरिरहेको गतिविधिलाई नजिकबाट नियाली रहेको समेत प्रस्ट पारेको छ । तर समाधानको आगामी कार्यदिशा कस्तो हुने भन्नेबारेमा भने भारतको प्रस्ट धारणा आएको छैन । साथै नेपालले पठाएको ‘कूटनीतिक नोट’का बारेमा पनि उसले कुनै प्रतिक्रिया दिएको छैन । नेपालसँगको गहिरो, ऐतिहासिक, सांस्कृतिक र मैत्री सम्बन्धलाई ठूलो महत्व दिएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले बिहीबार वक्तव्य जारी गर्दै सीमा क्षेत्रमा हालै भएका घटनाक्रममा भारतले नेपालको अवस्थाको अनुगमन गरिरहेको जनाएको छ ।

“हामी नोट गर्दछौँ कि यस मामिलाले नेपालमा यसको गम्भीरतालाई ध्यानमा राख्दै ध्यानपूर्वक विचार गरिरहेको छ । विश्वास र विश्वासको वातावरणमा आपसी संवेदनशीलता र पारस्परिक सम्मानका आधारमा भारत आफ्ना सबै छिमेकीसँग संलग्न हुन खुला छ” वक्तव्यमा भनिएको छ । वक्तव्यमा हालका वर्षमा नेपाल–भारत सम्बन्ध उच्च पथमा रहेको जनाउँदै अझ विस्तार र विविध द्विपक्षीय सहयोग र विकासका साथ अगाडि बढ्ने बताएको छ । ‘नेपालमा यातायात सञ्जाल परियोजनाका लागि भारतको सहयोग बढेकोबाट त्यो स्पष्ट हुन्छ’ भनिएको छ ।

यसले ठूला र महत्वपूर्ण परियोजनाको समयमै कार्यान्वयनमा परिणाम दिएको औँल्याएको छ । यस चुनौतीपूर्ण समयमा पनि कोरोना भाइरस (कोभिड–१९) महामारीसँग लड्न भारतले मेडिकल आपूर्ति र अन्य सुविधाका क्षेत्रमा सहयोग पु¥याइरहेको वक्तव्यमा जनाइएको छ । जसका लागि नेपाललाई औषधिलगायतका सामग्रीको अत्यावश्यक व्यापार र आपूर्ति सुनिश्चित गरेको पनि उल्लेख छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्