Logo

पूर्वाधार होइन तत्काल राहत : पर्यटन व्यवसायी



काठमाडौँ, १७ जेठ । आगामी आव २०७७/७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटबारे पोखराका पर्यटन व्यवसायीले अपेक्षाकृत बजेट आउन नसकेको प्रतिक्रिया दिएका छन ।

सरकारले पर्यटन पूर्वाधार विकासका लागि एक अर्ब २६ करोडको बजेट विनियोजन गरे पनि अहिले पूर्वाधार निर्माणको समय नभएको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई प्रत्यक्ष रूपमा सम्बोधन नगरेको गुनासो छ । अहिले देशभर लकडाउन भए पनि खुलेपछिको केही समयसम्म पनि पर्यटन व्यवसाय सुचारु हुने सम्भावना छैन ।

बजेटमा १५० अर्बको कोष ल्याइए पनि कुन क्षेत्रलाई के कति र कसरी प्रयोजन गरिन्छ भन्ने बजेटमा प्रस्ट नखुलाइएकाले पर्यटन व्यवसायमा आशा जाग्न नसकेको उनीहरूको भनाइ छ । बजेटले प्रमुख पर्यटकीय गन्तव्य पोखराको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्काउने अपेक्षा गरिए पनि सोको सम्बोधन नभएको यहाँका अग्रज पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलको भनाइ छ ।

अर्का अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रमा कार्यरत सयौँ मजदुरलाई व्यवस्थित गर्ने कुनै आधार बजेटमा समेटिएको छैन, हामी पर्ख र हेरकै अवस्थामा थियौँ तर यसबारे सम्बोधन भएन । यो बजेटले ठूला व्यवसायीलाई मात्र हे¥योे भन्ने गुनासो उनले गरेका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्