Logo

‘युवा पुस्तालाई राजनीति हस्तान्तरण गर्नुपर्छ’



श्रवणकुमार अग्रवाल जो नेपाली भूमिमा प्रायशः जनताबीच परिचित नाम हो । ७३ वर्षीय अग्रवाललाई आम नेपालीहरुले चिन्नुको कारण हो, मारवाडी सेवा समिति, नेपालमार्फत गरिने मानवीय सेवा नै हो । समितिमा ७ वर्ष कोषाध्यक्ष हुँदाको सेवा र दुई कार्यकाल पहिले र हालको बहालवाला अध्यक्ष हुँदै गर्दा गर्नुभएको कार्यसम्पादनले नै अग्रवालको नाम अग्रस्थानमा छ ।

त्यसो त उहाँ सामाजिक सेवामा मात्रै होईन, राजनीतिज्ञको रुपमा पनि परिचित हुनुहुन्छ । तत्कालिन् उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमको तर्फबाट व्यवस्थापिका संसदको सदस्य हुँदा गर्नुभएको जनताको सेवाले पनि उहाँलाई आफ्नो परिचय दिँदै हिँड्नुपर्ने आवश्यकत्ता छैन् । सामाजिक परोपकारी कार्यमा संलग्न मनकारी मनका धनी अग्रवालसँग रिपोर्टर्स नेपाल डटकमका लागि मल्टिमिडियाकर्मी मुकुन्द कालिकोटेले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ः

कोरोना कहरमा आम जनता होम क्वारेन्टिनमा बसेका छन्, तपाई अफिसमा देखिनुहुन्छ के काममा व्यस्त हुनुहुन्छ ?

–हाम्रो मारवाडी सेवा समिति, नेपाल विशुद्ध मानवीय सेवा कार्यमा समर्पित संस्था हो । स्थापनाकाल २०१० सालदेखि नै सेवा समितिले मानव सेवा गर्दै आएको छ । जव–जव नेपाली समाजमा मानवीय सङ्कट आउँछ, तव–तव समिति अग्रपङ्तिमा देखापर्दै आएको छ । २०७२ सालको विनाशकारी महाभूकम्पमा पनि जनताको घर–घरमा सेवाकार्य गरेको थियो भने अहिलेको कोरोना भाईरस (कोभिड १९) मा पनि निरन्तर मानव सेवामा लागिरहेको छ ।

अहिलेको कोरोना भाईरसको महामारीमा कस्तो–कस्तो प्रकारको सेवा कार्य गर्दै हुनुहुन्छ ?

–जब कोरोना भाईरसले जनतामा जटिलता सिर्जना गर्न थाल्यो नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गर्यो, त्यस समयभन्दा अगाडि घर जानेहरु जानुभयो । तर विविध कारणले घर जानबाट बञ्चितहरु, दैनिक ज्यालादारी गरि खाने मजदूरहरु, सडकमा प्लाष्टिक टिपेर गुजारा गर्नेहरु आदी खालका परिवारहरु जो खानबाट बञ्चित थिए उनीहरु र उनका परिवारहरुलाई बिहान–बेलुका खाना र खाद्यन्नको व्यवस्था गरिएको थियो ।

खाद्यान्न र खानको व्यवस्था कुन–कुन ठाउँमा कसरी गर्नुभएको थियो ?

–तत्काल त खाना र खाद्य सामाग्री वितरण बन्द गरिएको छ, अन्तिम पटकसम्मको हिसाबमा १० हजार, ३५० जनालाई पाँच किलो चामल, एक किलो दाल, दुई किलो आलु, एक लिटर तेल, दुई किलो चिउरा, एक किलो नुन, पाँच प्याकेट चाउचाउ, दुईवटा लुगाधुने सावुन, चार सय ग्रामको तीन प्याकेट मशला र माक्स चार वटा वितरण गरिएको थियो ।

सेवा समितिले बैशाख १ गतेदेखि जेष्ठ १ गतेसम्म काठमाडौंको विभिन्न ठाउँहरुमा २० दिनसम्म खाना, तरकारी र दालको प्याकेट वितरण गरेको थियो भने प्याकेटलाई बन्द गरेर सामाजिक दूरी कायम राखेर गाविसको समन्वयमा एक महिनाको रेकर्डअनुसार ५ हजार एक सय पच्चिस जनालाई स्थलगत खाना वितरण गरिए छ भने राष्ट्रिय मृगौला सेन्टरमा ५५०१ जनालाई विहान–वेलुकी खाना र २१६८ जनालाई दिउँसो खाजा वितरण गरिएको थियो ।

खाना र खाद्य सामाग्री वितरणको सेवा कार्यलाई अहिले किन बन्द गर्नुभएको ?

सेवा समितिले लकडाउन अवधिभर खाना र खाद्य वितरणको कार्यलाई निरन्तर गर्ने भनेर लागिरहेको थियो, खाना खाने र खाद्य सामाग्री लिनको दिनप्रतिदिन भिड बढ्दै गयो, सामाजिक दूरी पनि असुरक्षित हुन थाल्यो, स्थानीय प्रशासन र गाविसहरुले पनि अशुरक्षित महशुस गर्नुभयो र उहाँहरुको आग्रहमा बन्द गरिएको हो ।

तपाईहरुले गर्दै आउनुभएको सेवा कार्यमा मारवाडि सेवा समिति, नेपालका पदाधिकारीहरु र कार्यकर्ताले मात्र यति ठूलो कार्य कसरी भ्याउनु भयो ?

हाम्रो मारवाड सेवा समिति, नेपालको अध्यक्ष स्वयं म र महासचिव महावीर घिरहियालगायत अन्य सेवाभावमा समर्पित सदस्यहरुको सहभागीतामा सेवा कार्य सम्पन्न गरिएको थियो ।

खाना र खाद्य सामाग्री वितरण कार्यलाई बन्द गरेर औषधि वितरणतिर लाग्नुभयो, कस्तो खालको औषधि वितरण गर्दै हुनुहुन्छ ?

मारवाडी सेवा समिति, नेपालले आज मात्र होईन, स्थापनाकाल २०१० देखि नै होमियोप्याथिक क्लिनिकहरुबाट दिनको पाँच सय जनालाई निःशुल्क औषधि वितरण गर्दै आएको छ, त्यही सेवा कार्यको निरन्तरता हो ।

अहिले कस्तो प्रकारका रोगीहरुका लागि औषधि वितरण गरिरहनुभएको छ ?

कोरोना भाईरस (कोभिड १९) को करण विश्व मर्माहत भएको छ, त्यमा नेपाल अछुतो रहन सकेन र त्यस भाईरसले दिनप्रतिदिन प्रभाव बढाउँदै छ, त्यस भाईरसलाई लक्षित गरी मानवीय शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि होमियोप्याथिक समूह अन्तर्गत ९ ठाउँबाट वितरण गरिँदै छ ।

कतिको भरपर्दो छ, प्रतिक्रियाहरु कस्ता–कस्ता छन् ?

विश्वका विभिन्न देशलगायत छिमेकी मुलुक भारतको आयुष मन्त्रालयको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले Ayurveda & Alternative Medicine Guidelines for Preventive Measures & Management Protocol for COVID–19 in Nepl तयार गरेअनुरुप हाम्रो सेवा समितिले वितरण गरिरहेको छ, यो भरपर्दो र विश्वसनीय छ, यो औषधि सेवन गर्नेहरुकाअनुसार कमजोर सरीरमा पनि आन्तरिक तागत थपिएको बताउनुहुन्छ ।

कस्तो–कस्तो ठाउँहरुमा वितरण गर्दै हुनुहुन्छ ?

समितिले व्यवस्थापिका संसद, राष्ट्रिय सभा, नेपाल आर्मी, सशस्त्र प्रहरी, जनपथ प्रहरी, गाविस, विभिन्न संघ संस्थाहरुलगायतमा वितरण गरिएको छ । हालसम्म देशभरीमा नौं लाख पचास हजार व्यक्तिहरुलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिसकिएको छ ।

काठमाडौं उपत्यकामा मात्र हो कि बाहिर पनि वितरण गर्नुभएको छ ?

भ्याली बाहिर पनि औषधि वितरण तिव्रगतिमा भैरहेको छ । समितिले जेष्ठ ४ गतेदेखि सुरु गरेकोमा हाल हेटौंडा, वीरगञ्ज, भैरहवा, वुटवल र नारायणघाटमा पुगिसकेको छ भने अन्य ठाउँमा धमाधम कुरियर मार्फत जाँदै छ । नेपाल अधिराज्यभर ३८ वटा मारवाडि सेवा समिति, नेपालको शाखा कार्यालयहरु छन्, त्यहाँ पठाउँछौं र त्यहाँबाट सबै ठाउँमा वितरण हुन्छ ।

मारवाडि सेवा समिति नेपालको अन्य पनि सामाजिक सेवा कार्यहरु छन् ?

–थुप्रै छन् जस्तो विगत दुई वर्षदेखि पशुपति गौशलाको धर्मशालामा एउटा अफिस छ त्यहाँबाट असहाय, निमुखा, गरिबहरुलाई लक्षित गरी निःशुल्क कृत्रिम खुट्टा वितरण भैरहेको छ । यो दुई वर्षभित्रमा ७५० जनालाई सेवा गरिसकिएको छ । मारवाडि युवा मञ्चले कोरोना भाईरसबाट सुरक्षित हुनका लागि विभिन्न अस्पतालहरुलाई १० वटा सेनिटाईजेशन मेसिन प्रदान गरिसकेको छ भने माग भएमा अरु पनि वितरण गर्ने लक्ष राखेको छ । यस्तै गर्मिको समयमा विभिन्न खाले सभा सम्मेलन र काठमाडौंको मुख्य–मुख्य २५ देखि ३० स्थानहरुमा निःशुल्क पिउने पानी राख्ने काम भएको छ । एम्बुलेन्स र सव बहानहरु निःशुल्क व्यवस्था गरिएको छ, यस्ताखाले कामहरु थुप्रै छन् ।

तपाई राजनीतिकर्मी पनि राजनीतिको मानवीय सेवा कार्य राम्रो र सहज कि मारवाडि सेवा समिति, नेपालको ?

–राजनीतिको सेवा र समितिको सेवाकार्यमा आकाश–पतालको फरक छ किनभने राजनीतिमा छलछाम, छलकपट, धेरै ढाँट्नुपर्ने, झुटो बोल्नुपर्ने हुँदो रहेछ मेरो दुई कार्यकाल सांसद हुँदाको अनुभव हो । एउटा सांसदप्रति जनताको धेरै अपेक्षा हुँदारहेछन्, जनताले सोचेजतिको आफूसँग त्यो औकात नहुँने अनि आफूभन्दा ठूला नेताहरुको चाकडी गर्यो कामै नहुने, एउटा सिन्को पनि नभाँचिने अनि आज–भोली भन्दै टार्नुपर्ने, झुटबोल्न बाध्य हुनुपर्ने यतिमात्र हो कि नेता चिन्ने काम मात्र भयो अरु केही भएन । मारवाडि सेवा समितिमा काम गर्नुको अर्कै सन्तुष्टि छ, यहाँ छलछाम हुँदैन, ढाँट्नु पर्दैन, जे बोलिन्छ त्यही काम पूर्ण गरिन्छ, कहीँ कतैबाट केही सुन्नुपर्दैन, यहाँ आफ्नै संसार छ, स्वर्गीय आनन्द छ, मेरो लागि यस्तो खालको सेवा कार्य गर्न पाउँदा स्वर्णिम अवसर मिलेको अनुभव भएको छ । त्यसो त हाम्रो संस्कार नै हो कि सेवा गर्ने । १५ वर्षभयो यो मानवीय सेवा कार्यमा लागेको आत्मा सन्तुष्टि छ ।

राजनीतिमा फेरी आउनु हुन्छ कि ?
–हैन, अब युवा पुस्तालाई राजनीति हस्तान्तरण गर्नुपर्छ, ममात्रै होईन, पुराना पुस्ताहरुले त्यही गर्नुपर्छ, हामीले बाहिर बसेर अभिभावकत्व निभाउने हो । आफ्नो पालामा संविधान जारी गर्ने अवसर मिल्यो, मेरो पनि त्यहाँ केही योगदान छ, राजनीतिको अनुभव हाँसिल गरियो यसैमा सन्तुष्ट छु । पशुपतिनाथले सबै दिनुभएको छ, अबको जीवन सेवाकार्य मै बित्छ ।



प्रतिक्रिया दिनुहोस्