Logo

गरिव, किसान, महिला र युवाको सशक्तिकरण प्राथमिकतामा : भारतीय प्रधानमन्त्री मोदी



१७ जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको शसक्तिकरणलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ ।प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुगेको अवसरमा अडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले उनीहरुको सशक्तिकरणबाट नै मुलुकलाई सशक्त बनाउन सकिने उल्लेख गर्नुभएको छ ।

मोदीले एनडीए नेतृत्वको केन्द्रिय सरकार गठन गरेर दोस्रो कार्यकाल शुरु गरेको एक बर्ष पुरा भएको छ । गत वर्ष भएको लोकसभा निर्वाचनमा जनताले मुलुकलाई नयाँ उचाइमा पु¥याउने सपना देखेर मतदान गरेको पनि मोदीले अडियो सन्देशमा स्मरण गर्नुभएको छ ।

“त्यसैले हामीले यस वर्ष गरिब, किसान, महिला र युवालाई सशक्तिकरण गर्ने कुरालाई प्राथमिकतामा राख्यौँ,” उहाँले भन्नुभएको छ ।उहाँले नागरिकका नाममा पत्र समेत लेख्दै गत एक वर्षमा सरकारले गरेका कामहरुको सूची पनि सार्वजनिक गर्नुभएको छ ।

सूचीमा उहाँले आफुहरुको प्रयास, उपलब्धि, ठूला ठूला निर्णयहरुलगायत पनि समेट्नु भएको जनाइएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिइरहेको र देशभरी लकडाउन लागु गर्नु परेको अवस्थामा समेत सरकारले प्रभावकारी कामहरु गरेको प्रधानमन्त्री मोदीको दाबी छ ।

उहाँले जम्मु कश्मिरलाई केन्द्रीय प्रशासनअन्तर्गत ल्याएको, अयोध्या सम्वन्धी आदेश आएको, नागरिकता सम्वन्धी नयाँ व्यवस्था गरिएको लगायतका विषयलाई मुख्य कार्यको रुपमा उल्लेख गर्नुभएको छ ।त्यसैगरी देशको विकास र राष्ट्रिय एकताका लागि धेरै कामहरु भएको पनि प्रधानमन्त्री मोदीले पत्रमा लेख्नु भएको छ । उहाँले किसानहरुलाई सम्मान र प्रेरणा प्रदान गर्न आफुले प्रधानमन्त्री किसान सम्मान निधि शुरु गरेको पनि चर्चा गर्नुभएको छ ।

“यस कार्यक्रम अन्तर्गत एक बर्षमा झण्डै दश करोड किसानको खातामा ७२ हजार करोडभन्दा बढी रकम जम्मा गरिदिइएको छ,” प्रधानमन्त्री मोदीले लेख्नुभएको छ ।एएनआई File photo



प्रतिक्रिया दिनुहोस्