Logo

भारतसँगको सिमा विवाद समाधानबारे बुद्धिनारायण श्रेष्ठको विकल्प : ‘लिजमा दिने र जमिन एक्सचेन्जको विकल्पपनि छ’ (भिडिओसहित)



काठमाडौं, १७ जेठ । सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल भारत सिमा विवाद अहिले ट्याकमा आएको बताउँदै दुई देशबीच वार्ता गर्नु नै अहिलेको उत्तम विकल्प भएको स्पष्ट पारेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिमाविद् श्रेष्ठले भने,’वार्ता भनेको समानताको आधारमा, मित्रताको आधारमा, नेपाल र भारत जुम्ल्याए भाई हुन भन्ने समानताको आधारमा वार्ता गर्नुपर्छ । नेपालले भारतसँग वार्ता गर्दा कुटनीतिक चातुर्यता देखाउनुपर्ने र तर्कसहित प्राविधिक कुरापनि राख्न सक्नुपर्ने श्रेष्ठको भनाई छ ।’

श्रेष्ठले अघि भने,’भारतले अर्को प्रस्ताव राख्यो भने महोदय १९६५ देखि त यो भूभागमा हाम्रो सेना, ईण्डो टिबेटियन बोर्डर पुलिसपनि छ । बंकर बनाएरपनि हामी बसिरहेका छौं । एउटा सम्भावना है, दर्शक र श्रोतालाई चित्त बुझ्छ कि बुझ्दैन, यो कालापानी, लिपुलेक भूमि हामीलाई दिनुहोस न, के गरेर दिनुहुन्छ भनेर भारतले प्रस्ताव गर्यो भने नेपालले के भन्ने ?, रणनैतिक कुटनीति यहीँ नै छ । अब मिल्ने कुरा भयो भने महोदय हुन्छ, तपाईहरु ५० वर्षको लिजमा लिनुहोस, यो भन्दा भारत मिल्छ कि मिल्दैन, अनि भारतले ५० होईन १०० वर्ष लिने कुरा भयो भने यो भन्दा नेपालले के भन्ने ? गृहकार्य यसैबाट गरौं । एउटा अल्टरनेटिभ हगि, अर्को अल्टरनेभिट चाहीँ चीनपनि छ, लिम्पियाधुरामा त्रिदेशीय विन्दु भेट्छ । यसको सिमाना भेट्छ भनेपछि चीनपनि यसमा त्रिदेशीय विन्दु स्थापना गर्न आउनुपर्छ । किनभने सन् १९६१ मा नेपाल र चीनबीच सिमांकन भएको थियो । त्यो बेलामा चीनले नेपाललाई के भन्यो भने भारतपनि आउनुपर्छ यसमा, भारतलाई चिठ्ठी लेख्नुहोस भन्यो । तर भारत आएन् । किनभने त्यो बेलामा चीनसित भारतको युद्ध आलै थियो । ताजै थियो । आएन है । त्यसकारण अहिलेपनि चीनलेपनि आउनुपर्छ यो त्रिदेशीय विन्दु स्थापना गर्न । उसो भए भारतले नेपालसँग अर्को प्रस्ताव गर्यो भने नेपाल महोदय, यो क्षेत्र व्यापारको लागि पनि महत्वपूर्ण छ, नेपाल, चीन र भारत मिलेर यो उपयोग गरौं न, प्रयोग गरौं भनेर भारतले प्रस्ताव गर्यो भने नेपालले के भन्ने ? हे, भनेर हास्नेमात्रै कि हुन्छ भन्नेकी, के भन्ने ? यो हो हाम्रो रणकौशल, यही तयार गर्नुपर्यो हाम्रो थिंक ट्यांकले ।’

श्रेष्ठले अघि भने,’अनि हामीले यसमा भन्नुपर्यो होईन चीनमा यसमा सहभागी नगरौं । दुवै देश मिलेर बनाउँ भन्ने कि ? चीनलाई पनि गुहार्नुपर्छ अब भन्ने हो ? यो रणकौशल गर्नुपर्छ। हुनुपर्छ । त्यसैले म भन्छु सौहार्दपूर्ण तवरले वार्ता नै अन्तिम विकल्प हो । नेपाल र भारत, र नेपाल र चीनबीचपनि यसअघि पनि जमिन एक्सचेन्ज गर्ने ईतिहास स्मरण गराउँदै उनले भने,अहिलेको हाम्रो कञ्चनपुरको वनबाशा ब्यारेज, अंग्रेजले नेपालको भूमिमा बनाएको थियो । अब नेपालले सन् १९२० मा चन्द्रशमशेरको पालामा अंग्रेजले माग्यो अनि दिईयो, सन् १९२३ मा त्यो निर्माण भैसक्यो । त्यो नेपालको भूमिमा शारदा ब्यारेज बनाईएको छ । त्यसको सट्टामा नेपालले बर्दियाको राजापुर, त्यसपछि आएर दाङको कोइलाबासको भूभाग फिर्ता पाएको छ । यद्धपी ३६.८१ हेकटर जमिन नेपालले अझैपनि पाउनुछ । यो प्राक्टिस छ महोदय, त्यसकारणले मिल्नेनै हो भने यसरपनि मिल्न सकिन्छ, कतिपय अध्येताहरु भन्दै होलान्, अहिलेपनि हेर्दैहोलान् यो बुद्धिनारायणले भारततर्फ लाग्यो, गु खान लाग्यो भनेर भन्ला होई, तर, मिल्ने भए नेपालको सम्प्रभुता, नेपालको लालपूर्जा राखेर त्यसपछि आएर एक्सचेन्जपनि गर्ने अवस्था छ । जस्तो भारत र बंगलादेशको बीचमा एक्सचेन्ज भयो । भारतले एक सय १३ वटा ईनक्लेप बंगलादेशलाई दियो । बंगलादेशबाट १५ वटा ईनक्लेप भारततर्फ आयो । अर्को म भन्छु नेपाल र चीनबीच १९६१ मा सिमांकन गर्दाखेरि नेपालको केही भूभाग चीनतर्फ परेको, चीनको केही भूभाग नेपालतर्फ परेको, यद्धपी नेपाललाई ३ सय २ वर्गकिलोमिटर भूभाग बर्ता आएको छ नेपाललाई । तर, ती भाग हामीलाई आएको चट्टानी, पहाडी, हिउँको भाग र बञ्जरचाहीँ आयो । हाम्रो चरन क्षेत्र र आवाधि क्षेत्र चीनतर्फ गयो ।’



प्रतिक्रिया दिनुहोस्