Logo

सांसद लामाद्वारा नुवाकोटका स्थानीय तह र सुरक्षा चौकी र पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण



नुवाकोट १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले गृहजिल्ला नुवाकोटका १२ वटै स्थानीय तह, सुरक्षा चौकी र जिल्लामा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन् ।

कोरोना भाईरस (कोभिड-१९) ले पारेको असरलाई मध्येनजर गर्दै आज सदरमुकाम विदुरमा सबै तहका प्रमुख र उपप्रमुख, पार्टी एकाइ पदाधिकारी, जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधि र पत्रकारहरूलाई सांसद लामाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सांसद लामाले वितरण गरेको सामग्रीमा १५५ सेट पिपिई, बुट, ५५ थान इन्फ्रारेड फोरहेड थर्मोमिटर (थर्मल गन) १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८०० थान एन ९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान कपडाको मास्क, १०५ लिटर स्यानिटाइजर र १ थान बिग स्प्रे मेसिन समावेश छ । लामाले जिल्लाका १० गाउँपालिका र दुई नगरपालिकालाई प्रति तह ५ सेट पिपिई, २ थान थर्मल गन, १ थान स्यानिटाइजर स्प्रे मेसिन, ५ लिटर ह्यान्ड स्यानिटाइजर, ५ लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २० थान एन-९५ मास्क, ३०० थान सर्जिकल मास्क र २०० थान कपडाको मास्क हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद लामाले महामारीको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एक भएर महामारी विरुद्ध लड्नुपर्ने भन्दै सम्पूर्ण दल, प्रशासन, सुरक्षा संयन्त्र, सामाजिक संघसंस्था, उद्योगी(व्यापारी, सञ्चारकर्मी र नागरिक समाज सबै मिलेर कोरोना रोकथाममा चनाखो भएर लागिपर्न अपिल गरे ।

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला प्रहरी प्रमुख डिएसपी अभिनारयण काफ्ले, नेपाली कांग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, जिपी कोइराला फाउन्डेसन नुवाकोटका उपाध्यक्ष शिव अधिकारी अविरल लगायतको उपस्थिति थियो ।

लगत्तै, विदुरस्थित नेपाली कांग्रेस पार्टी कार्यालय पुगेर कांग्रेस नेता तथा सांसद लामाले त्यहाँ उपस्थित सबै स्थानीय तहका पार्टी एकाइ पदाधिकारी, जिल्लाभरका ब्यारेक तथा प्रहरी चौकीका प्रतिनिधि र जिल्लामा क्रियाशील पत्रकारहरुलाई पिपिई सेट, थर्मल गन, एन(९५, सर्जिकल तथा क्लोथ मास्क, स्यानिटाइजर, साबुन लगायत स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री हस्तान्तरण गरे ।

सोही अवसरमा उनले विदुरस्थित जिल्ला प्रहरी कार्यालयअन्तर्गतको प्रहरी चेकपोस्टलाई एक थान बिग स्प्रे मेसिन समेत प्रदान गरे । गत साता सांसद लामाले लिखु गाउँपालिकालाई स्यानिटाइजर स्प्रे मेसिन, थर्मल गन, एन(९५ मास्क, मेडिकल मास्क, एप्रोन सेट लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्