Logo

बाध्यता बन्दैछ वैकल्पिक शिक्षा विधि



काठमाडौँ, १८ जेठ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका धेरै मुलुकमा शिक्षालय बन्द छन् । भाइरसबाट बच्न घरमै बन्द रहे पनि शिक्षा आर्जन गर्न अनेक वैकल्पिक माध्यम अवलम्बन गर्न थालिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दीमा कसरी शैक्षिक गतिविधि अगाडि बढाउन सकिन्छ भनेर वैकल्पिक विधि तयार गरिरहेको बताएका छन् । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार ४५ दिनका लागि कक्षा १ देखि ३ सम्मको अतिरिक्त अभ्यास पुस्तिका तयार भइसकेको छ । उनले कक्षा ४ देखि ८ सम्मको अभ्यास पुस्तिका तयार भइरहेको बताउँदै ती छापिएपछि विद्यार्थीलाई उपलब्ध गराएर पठनपाठनमा निरन्तरता दिइने बताएका छन् ।

सम्पन्न मुलुकमा अनलाइन शिक्षाले बढी ठाउँ लिएको छ भने विकासशील मुलुकमा अनलाइनका साथै रेडियो र टेलिभिजन समेतका माध्यम प्रयोग गर्नुुपर्ने बाध्यता बनिरहेको छ । क्यानडा, अमेरिका लगायतका कतिपय देशमा विद्यालयले नै विद्यार्थीलाई अनलाइन अध्ययन गर्न आवश्यक कम्प्युटर, ल्यापटप, आइप्याड जस्ता सामग्री उपलब्ध गराएको त्यहाँ रहने नेपालीले जानकारी दिए । हाल अमेरिकामा रहेका नेपाल अभिभावक महासङ्घका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना नाति अनलाइन माध्यमबाट अध्ययन गर्दै आएको सुनाएका छन् ।

उनले विद्यार्थीले पठनपाठन गर्ने कुरा ठ्याक्कै रोक्नुहुँदैन । पाठ्यपुस्तक ओसारपसार गर्न रोकिएको छैन । विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध गराउने तरिका खोजौँ । इन्टरनेट, रेडियो र टेलिभिजनको पहुँच भएका वा नभएका विद्यार्थीको वर्गीकरण गरौँ भने । कतिपय मुलुकमा बन्दाबन्दीले खासै असर गरेको छैन । नेपालमा भने सीमित निजी विद्यालयले अनलाइन विधिबाट पठनपाठन थाले पनि उपत्यकाका सामुदायिक विद्यालय केहीले मात्र अनलाइन विधिबाट पठनपाठन अगाडि बढाएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्