Logo

बन्दाबन्दीमा १४ सुुत्केरीको उद्धार



काठमाडौँ, १८ जेठ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बन्दाबन्दीको दुई महिनाको अवधिमा प्रसूूति व्यथा लागेर अलपत्र परेका १४ महिलाको उद्धार गरी अस्पताल पु¥याइएको छ ।

सो कार्यक्रम अन्तर्गत जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिँदै आइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दुर्गम क्षेत्रका गर्भवती एवं प्रसूतिका लागि स्वास्थ्य संस्थामा लैजान समस्यामा परेका महिलाको उद्धार प्राथमिकता साथ गरिँदै आएको जानकारी दिएका छन् ।

उनले मातृशिशु मृत्युदर कम गर्न व्यवस्था गरिएको सो कार्यक्रमबारे स्थानीय तहले सक्रियता बढाउनुपर्ने बताएका छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमकी प्रमुख अञ्जु ढुङ्गानाका अनुसार सो कार्यक्रम कार्यान्वयन पछिको २१ महिनामा २०३ गर्भवती एवं प्रसूति व्यथा लागेका महिलाको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको कार्यविधि पारित भएको तीन महिनापछि हुम्लाको चङ्खेली गाउँपालिका–४ की २२ वर्षीया नीरा शाहीको पहिलो उद्धार गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत उद्धार कार्यक्रम सञ्चालन हुँदै आएको छ । अप्ठ्यारोमा परेका सुत्केरीले आफ्नो वडाध्यक्ष मार्फत प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जानकारी गराएमा यो सुविधा लिन सकिन्छ । सुत्केरी तथा गर्भवती अवस्थामा महिलाको ज्यान जोखिममा पर्ने र समयमै उपचार नपाएमा ज्यानै जाने भएकाले हवाई उद्धार मार्फत स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था गरिएको छ । २०७५ असोज ३० गते कार्यविधि ल्याइएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्