Logo

सात लाख रोजगारी सिर्जनाको लक्ष्य



काठमाडौँ, १८ जेठ । कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको बन्दाबन्दीले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ ।

विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द हुँदै स्वदेशी श्रम बजारमा पनि रोजगारी गुमेको अर्को अवस्थाले सरकारलाई रोजगारी व्यवस्थापनमा चुनौती छ तर यस्तो चुनौतीलाई धेरै हदसम्म समाधान गर्नेगरी सरकारले योजना बनाएको देखिन्छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा यसका कार्यक्रम र अन्य नीतिगत व्यवस्थाबाट कम्तीमा सात/आठ लाख रोजगारी सिर्जना गर्ने योजना बनाइएको छ । उनका अनुसार आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको मुख्य प्राथमिकतामा रोजगारी सिर्जना परेको छ ।

बन्दाबन्दीका कारण श्रम बजारमा भइरहेको उथलपुथललाई आफ्नो अनुकूल हुनेगरी तयारी गर्ने समय आएको श्रमविज्ञहरूको मत छ । रोजगारविज्ञ गणेश गुरुङका अनुसार अहिले आन्तरिक र विश्व श्रम बजारको नयाँ आयाम पूर्ण सदुपयोग गर्ने अवसर नजिकिँदै छ ।

“अहिलेको उथपुथलको अवस्थालाई नयाँ प्रस्थान बिन्दु बनाउन सकिन्छ,” उनले भने । अहिले युवा सहर छाडेर गाउँगाउँमा पुगेका छन् । स्थानीय सरकारले उनीहरूलाई व्यावसायिक कृषि वा अन्य उद्यममा आकर्षण गर्नुपर्ने उनको सुझाव छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्