Logo

आयात रोकेपछि स्थानीय तरकारीले बजार पाउँदै



काठमाडौँ, १८ जेठ । बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् । स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने तरकारीले बजार पाउने अवस्था भए पनि बन्दाबन्दीमा तरकारी आयात रोकिँदा आफूले उत्पादन गर्दै आएको तरकारीले राम्रो बजार पाउन सफल भएको बागलुङ नगरपालिका–३ कृषिगाउँका कृषक गङ्गा थापाले बताएका छन् ।

“बन्दाबन्दीअघि तरकारीले बजार कम पाउँथ्यो, पाए पनि मूल्य थोरै पर्दथ्यो”, थापाले भने, “भारत तथा तराईको तरकारी आउन छाडेपछि बागलुङ बजारका उपभोक्ता कृषि फार्ममै तरकारी खरिदका लागि आउने गरेका छन् ।” कृषक थापाले २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले राहुल कृषि विकास फार्म दर्ता गरेर च्याउखेतीसमेत विस्तार गर्दै आएको छ । झण्डै २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएका थापा बजारवासीलाई बन्दाबन्दीको समयमा जैविक तरकारी खुवाउन पाएकामा खुशी छन् ।

यस्तै काठेखोला गाउँपालिका तङ्ग्राम निवासी ३२ वर्षीय जगबहादुर विकले बागलुङ नगरपालिका–३ कृषिगाउँमै तरकारी खेती थालेको पाँच वर्ष भयो । उनले आफूले उत्पादन गरेको तरकारी तरकारी फार्म, बागलुङ बजार तथा म्याग्दी र पर्वतमा बिक्री गर्दै आए पनि बन्दाबन्दीले गर्दा सबै तरकारी बागलुङ बजारमै खपत भएको बताएका छन् । बागलुङमा पर्वत, म्याग्दीबाहेकका जिल्लाबाट तरकारी तथा फलफूल भित्र्याउन रोक लगाइएपछि स्थानीय तरकारीले राम्रो मूल्य पाउन थालेको हो । विकले झण्डै १५ रोपनी जग्गा भाडामा लिएर तरकार खेती गर्दै आएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्