Logo

नयाँ नक्शा संसदबाट पारित हुने निश्चित



काठमाडौं, १८ जेठ । सरकारले जारी गरेको नयाँ नक्शा संसदको दुई तिहाईबाट पारित गरेपछि मात्र यसले वैधानिकता पाउनेछ । त्यसैले आज सरकारका तर्फबाट कानुनमन्त्री डा. शिवमाया तुम्वाहाम्फेले संसदमा नक्शा संशोधनसम्बन्धी विधयेक प्रस्तुत गर्ने भएको छ ।

संसद बैठकको शुरुमै विधयेक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । हिजो नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले नक्शाको पक्षमा मतदान गर्ने निर्णयसँगै सरकारले आज विधयेक प्रस्तुत गर्न लागेको हो । गत हप्ता नै संसदमा पेश गर्ने भनिएको विधयेक केही पछि सारेपछि आशंका उब्जिएको थियो । सत्तापक्षले प्रमुख प्रतिपक्ष काँग्रेसको आग्रहमा सारिएको भनेको थियो ।

काँग्रेसले विधिसम्मत तरिकाले पार्टी केन्द्रीय कार्यसमिति बैठक बसी बढ्ने भनेपछि केही पर धकेलिएको थियो । आज पेश गरिएको विधयेकबारे छलफल भई छिट्टै निर्णयार्थ प्रस्तुत हुने बुझिएको छ । नेकपा र काँग्रेसको संसद सदस्य संख्या नै विधयेक पारित गर्न पर्याप्त रहेको छ । त्यसैले संसदबाट विधयेक पारित हुने निश्चित देखिन्छ ।

राष्ट्रिय समाजवादी पार्टीले भने संविधान संशोधनमा मधेशी, जनजाति, थारुलगायत अल्पसंख्यकको माग पूरा हुने गरी प्याकेजमा गर्न जोड दिदै आएको छ । नक्शा विधयेक सर्वसम्मतले पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्