Logo

भारतमा लकडाउन खुलेपछि नेपालमा कस्तो असर पर्ला



काठमाडौं, १८ जेठ । भारतमा सोमबारबाट ‘अनलक’ शुरु हुने भएको छ । लकडाउनको साटो ‘अनलक’ नाम दिएर चरण चरणमा विभिन्न क्षेत्र खुल्न र संचालन गर्न दिने निर्णय आइसकेको छ ।

भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुलाउने निर्णय लिएको हो । अनलकमा विस्तारै सबै क्षेत्र खुलाउँदै लाने निर्णय भइसकेको छ । अबको एक महिनामा भारत लगभग पुरै खुल्ला हुनेछ ।

एक महिनापछि विद्यालयलगायत शैक्षिक संस्था पुरै खुल्नेछन् । ८ जुनबाट के के क्षेत्र खुल्ने भन्ने निर्णय राज्य सरकारहरुलाई दिइने भएको छ । यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।

भारतमा यातायात सहज भएपछि नेपालीहरु फर्कने हुन् या होइनन् चासोको विषय छ । रोजगारी या अन्य कामले भारत गएकाहरु उतै रोकिन पनि सक्छन् । काम रोकिएर धेरै नेपाली स्वदेश फर्किएका थिए । उतै बसेकाहरु फर्कन चाहेमा फर्कन सक्ने भएपनि नेपाल पसेकाहरु पुनः फर्कन पाउने सम्भावना तत्काल छैन ।

भारतमा कोरोना भाइरस फैलिएपछि नेपालमा पनि त्यसको असर बढेको थियो । अधिकांश संक्रमित भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु देखिएका थिए ।

यसपटक भारतले लकडाउन खोलेपछि नेपालीहरु फर्कने वा उतै रोकिने भन्नेले देशभित्र असर पार्नेछ । राज्यले लाखौंको संख्यामा भारतबाट फर्केकाहरुको व्यवस्थापन कसरी गर्छ भन्ने चासोको विषय बनेको छ । नेपालीहरु भारतलगायत विदेशमा लाखौंको संख्यामा रोजगारीमा छन् । त्यसमाथि खाडीका मुलुकहरुबाट पनि नेपालीलाई ल्याउने तयारी बढाइएको छ । यसले देशभित्र काम गर्ने उमेर समूहकाको व्यवस्थापन चुनौती बन्न सक्छ । युवाहरु ठुलो संख्यामा बेरोजगार भएमा नयाँ संकट थपिनसक्छ ।

भारतले तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा सुचारु गर्नेछ । नेपालमा १६ असारसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भइसकेको छ । नेपालले उडान सुचारु गरेमा भारतसँग आवतजावत बढ्नसक्छ ।-एजेन्सीको सहयोगमा File Photo



प्रतिक्रिया दिनुहोस्