Logo

सोती घटनाः नवराज विक, मल्ल थरकी युवती कि गाउँले दोषी ?



रिपोर्टर्स नेपाल, १८ जेठ । एउटी किशोरीसँगको प्रेम सम्बन्धले प्रेमिका मात्र नभई उनका साथीहरुको समेत ज्यान लिएको रुकुम घटनामा अनेकन अड्कलवाजीहरु भइरहेका छन् । घटनामा पाँच जना युवाको शव भेरी नदीबाट निकालिएको र एकजना वेपत्ता भएका छन् । लकडाउनका बाबजुद संसद देखि सडकसम्म चर्को आवाजका साथ उठेको सोती घटनाको विषयबारे सत्यतथ्य के हो ? यसको छानविन गर्न गठित गृहमन्त्रालयको टोलीले प्रतिवेदन बुझाएपछि मात्र आउन सक्ला ।

सोती घटनाको छानविन गर्न गृहमन्त्रालयको टोली दुईवटा गाडी सहित घटनास्थलमा १६ जेठमै पुगिसकेको छ । अब घटनाका प्रत्यक्षदर्शी, पीडित, पीडकका अलावा सुरक्षा निकायसँग पनि भेटेर सुचना संकलनको काम हुन्छ । जुन सजिलो छैन ।

गाउँले नै उल्टेर १९ जनाको समुहमा आएका युवकहरुमाथि आक्रमण भएको थियो । वैशालु उमेरका युवाहरु हुल बाँधेर अर्काको गाउँमा किशोरीलाई लिन भनेर पुगेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट किशोरीले एसएमएस गरी डाकेको समेत पत्ता लागेको छ । यसले घटनाको कारण पत्ता लगाउन सकिने देखिन्छ । तर, हत्या कि भाग्दा डुबेर मृत्यु भएको भन्ने विषय रहस्यमय नै छ । ५ जनाको पोष्टमार्टम रिपोर्ट आइसकको छ । हात बाँधिएको अवस्थामा एकजनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । टाउकोमा चोटहरु पनि देखिएको विषय पनि आएको छ । तर, सत्य के हो आधिकारिक रुपमा आइसकेको छैन ।

घटनामा मुख्य व्यक्ति थिए जाजरकोटका नवराज विक र रुकुमकी मल्ल थरकी १७ वर्षीया किशोरी । घरपरिवारबाट अप्ठ्यारोमा परेँ भन्दै १७ वर्षीया प्रेमिकाले लिन आउनु भनी सन्देश पठाएपछि ज्यानको बाजी लगाएर पुगेका थिए नवराज । प्रेमिकाले डाकेपछि १० जेठमा १९ जनाको हुल बाँधेर जाजरकोटबाट रुकुम पश्चिम चौरजहारीको सोती गाउँ पुगेका थिए ।

प्रत्यक्षदर्शी र पीडित पक्षको बयानका आधारमा क्रममा युवकहरु जर्बजस्ती अपहरणको शैलीमा किशोरीलाई लिन नगएको खुलिसकेको छ । युवक र किशोरी लामो प्रेमसम्बन्ध रहेको तथ्य फेला पारेको छ । युवक र युवतीको कल डिटेल र मेसेज आदानप्रदानको डिटेल समेतबाट अनुसन्धान गर्दा एउटा मेसेज महत्वपूर्ण देखिएको छ जसमा गर्भवती छु, साथीहरुसहित लिन आउनु भनिएको छ । यद्यपि, किशोरीले पछिल्लोपटक आफ्नो प्रेमसम्बन्ध टुटिसकेको थियो भनेको बुझिएको छ । उनको यो भनाई विवादास्पद देखिन्छ ।

हुल बाँधेर पुगेका युवकहरु घर नपुग्दै गाउँ उल्टेर आक्रमणमा उत्रिएका थिए । उनीहरुबीच भागाभाग मच्चियो । कतिले कुटाई खाए त कति भाग्न सफल भए । गावै उल्टेर आएपछि उनीहरुको केही लागेन । भेरी नदीमा हामफालेर तर्न खोज्दा पनि यसपटक छ जना असफल भए । जसमध्ये प्रेमी नवराज विक पनि थिए । भेरीमा फाल हालेर भाग्दा भाग्दै आफूहरुमाथि ढुंगा बर्सिएको बचेका युवकहरुले बयान दिएको बुझिएको छ । १९ जनामध्ये ११ जना भेरी नदीमा हामफालेकोमा ५ जना तर्न सफल भएका थिए । बाँकी छ जनामध्ये पाँचजनाको शव फेला परिसकेको छ । एकजना अझै वेपत्ताको सुचीमा छन् ।

नवराज विक र मल्ल थरकी किशोरीबीचको प्रेममा बाधक जात नै हो । युवक दलित समुदायको हुनु र युवती ठकुरी समुदायको हुनुले पनि परिवारले अस्वीकार गर्दा घटना घट्न पुगेको देखिन्छ । युवक किशोरीप्रति आशक्त थिए । किशोरी पनि नवराजको घरमा पुगिरहन्थिन् । तर, त्यो सामिप्यता र प्रेम भेरीको भेलले बगायो ।

नवराज र मल्ल थरकी किशोरीबीचको प्रेम मात्र बगेन उनीहरुको प्रेमलाई सफल बनाउन पुगेकाहरु पनि भेलमै बगे । पाँच जनाको शव फेला परेकामा भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा र सन्दीप विक र चौरजहारीका टीकाराम सुनाको शव फेला परिसकेको छ । अब भेरी नगरपालिकाका गोविन्द शाहीको खोजी भइरहेको छ । शाहीको शव पत्ता नलाग्दै अनुसन्धान र छानविन अगाडि बढेको छ ।

घटनामा को दोषी ? यो छानविनले देखाउला । लकडाउनका बखत प्रेमिकालाई लिन घरमा हुल बाँधेर जाने नवराज विक कि प्रेमीलाई हुल बाँधेर आउनु भन्ने मल्ल थरकी किशोरी कि सोतीका गाउँले ? वडाध्यक्ष देखि प्रहरीसम्म घटनामा मुछिएबाट को को दोषी हुन् ? छानविनले मात्र देखाउला ।

 



प्रतिक्रिया दिनुहोस्