Logo

विदेशिएका नेपालीका नाममा सुखद खबर लेख्ने मौका देऊ सरकार



–डेभिड पाण्डे
सरकार जनताका लागि हो । विचौलिया, दलाल र पुँजिपतिका लागि सरकार मरिमेटेर लाग्यो भने जनताको हालत के होला ? सरकार जनताका लागि त हो नै, अझ भन्नुपर्दा दुःख, पीडा र समस्यामा परेका जनताका लागि त सरकार नै साहारा हो ।

यतिबेला जनताले सरकारको भरोसा खोजेका छन् । कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढिरहेको छ । सरकारले नियन्त्रणका लागि चाल्नुपर्ने धेरै महत्वपूर्ण कदम छोडेर एउटै महत्वपूर्ण मानिएको कदम लकडाउनमा केन्द्रित भइरहेको छ ।

देशभित्रका जनता लकडाउनका कारण अनेकौँ समस्या झेलिरहेका छन् । खाने बस्ने ठेगान नभएका वर्गहरु सडकमा भौँतारिरहेका छन् । उनीहरुको समस्याप्रति सरकारको नजर पुग्न नसकेको तितो यथार्थ हामीसामु छर्लङ्ग छ । यहाँ प्रस्तुत गर्न खोर्जिको तितो यथार्थ भने विदेशमा रहेका नेपाली, जो कोभिड १९ को महामारीका कारण स्वदेश फर्किनैपर्ने बाध्तामा पुगेका छन् । उनीहरुलाई सरकारले स्वदेश ल्याउने र क्वारेन्टाइनमा राख्ने तयारी सुरु गरेको छ । यससम्बन्धमा मलाई केही भन्नै मन लाग्यो ।

नेपाल सरकारले विदेशबाट नेपाल आउन चाहने नेपाली दाजुभाइ तथा दिदीबहिनाहरुका लागि आउने ब्यवस्था मिलाउने निर्णय गरेको समाचार पढ्दै थिए । खुशी हुँदै समाचार पढिरहेको मेरो अनुहारमा समाचार सक्दा भने त्यो खुशी टिकिरहन सकेन । जो विदेशमा छन र नेपाल आउन चाहन्छन, उनीहरुको खुशी यथावत छ वा के भयो त्यो थाहा छैन । तर लाग्छ , समाचारको हेडलाइन पढ्दा सरकारको उपस्थिती देखेका नेपालीले समाचार पढ्दासम्म सरकारको उपस्थिती हराएको अनुभूति गरे होलान् मेरो अनुमान हो ।

मैले पढेको समाचारको हेडलाइन थियो–विदेशी भुमीमा अलपत्र नागरिकको उद्वार गरिने, क्वारेन्टाइन होटलमा, खर्च पीडितकै । यो हेडलाइनमा सबै ठीक थियो । तर मुख्य कुरा ठीक देखिन मैले । हो, हेडलाइनको अन्तिममा लेखिएको खर्च पीडितकै भन्ने दुई शब्दले पीडामा सरकारको साहारा खोजेका विदेशमा रहेका नेपालीको मन पक्कै अमिलो भयो कि ?

परिवारका निम्ति खुशी किन्न तिनै परिवार नै छोडेर विदेशिनु नेपालीको बाध्यता हो भन्ने यथार्थ सबैले बुझेकै कुरा हो । घर बेचेर होस् वा ऋण खोजेर नै किन नहोस्, विदेशमा गएर श्रम बेच्नेहरुले देशको अर्थतन्त्रमा पुर्याएको योगदान पनि सबैमाझ अवगत नै छ । यसको मतलब, अबौँ विप्रेषण पठाएका छन्, त्यसैले उनीहरुलाई सरकारले उद्वार गर्नुपर्छ भन्ने पनि होइन । देशलाई योगदान दिन सक्ने होस वा नसक्ने, जो भए पनि नेपाली नागरिकलाई आवश्यक परेको बेला सरकारले सहयोग गर्नैपर्छ ।

प्रसङ्ग पुनः उद्वार, क्वारेन्टाइन र खर्चकै

विदेशमा गएर श्रम बेचेर अथाह पैसा कमाउनेको संख्या ज्यादै कम छ । अली अली कमाएको ऋण तिर्नै ठीक्क भयो होला । बचत गर्नको लागि कमाउँदै थिए, त्यो पनि कोरोनाले बन्द गरिदियो । विदेशी भुमी, विदेशी कानुन, विदेशी हावापानीमा हरेक दिन त परको कुरा हरेक सेकेण्ड बिताउन पनि पक्कै सजिलो छैन ।

कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने निर्णय गत शुक्रबार कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको थियो । समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउने सम्बन्धि आदेश– २०७७’ को अनुसार कार्यदेश बनाएर ल्याउने गरी प्रक्रिया अघि बढेको हो ।

कार्ययोजनालाई शनिवार बसेको मन्त्रीपरिषद बैठकले स्वीकृत गर्यो । नेपाल आउनुपर्ने व्यक्तिमा सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्ति, नेपाल आउन अनुमति प्राप्त भएका व्यक्ति जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्ति रहेका छन् । यस्तै श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु, कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएक व्यक्ति, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति पनि आउने सूचीमा रहेका छन । सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्ति जो नेपाल आउन नपाएका छन तिनीहरुलाई पनि सरकारले स्वदेश ल्याउने भएको छ । यस्तै अध्ययन समाप्त भएका विद्यार्थी, कलेज वन्द भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएका, कम्पनीबाट अनिवार्य विदामा बसेका, अन्तर्रा्ष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहेका र पर्यटक र व्यापारी राहदानीमा गएकालाई स्वदेश फर्काउने सरकारको तयारी छ ।

ऋण तिर्न विदेश हानिएका नेपालीले स्वदेश फर्किदा फेरी अर्को ऋण टाउको माथि राख्नुपर्ने हो ? यससम्बन्धमा सरकार किन गैरजिम्मेवार बनेको ?

कोभिड १९ को महामारीले नेपालमा पनि खतराको घण्टी बजाइसकेको छ । त्यसैले विदेशबाट नेपाल ल्याएर सिधै घर जाने अवस्था छैन । उनीहरुलाई क्वारेन्टाइनमा राखेर कोभिड १९ परिक्षण गरेर स्वस्थताको अर्थात कोभिड १९ नेगेटिभको प्रमाणपत्र दिएर मात्रै घर पठाउनुपर्ने अहिलेको अवस्था पक्कै जटिल छ । यस्तै जटिल अवस्थामा हो सरकारको अग्नि परीक्षा ।

तर सरकारले अग्नि परीक्षामा असफल हुने संकेत देखाइसकेको छ । समाचारमा भनिएअनुसार काठमाण्डौका होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिनेछ । पैसा खर्च गर्न सक्नेले होटलको व्यवस्थित क्वारेन्टाइनमा बस्ने र पैसा खर्च गर्न नसक्नेले सरकारले बनाएको अस्तव्यस्त क्वारेन्टाइनमा बस्नुपर्ने कार्ययोजना नै खोटपूर्ण छ ।

स्वास्थ्यको चिन्ता सबै नागरिकको एकनासको हुनुपर्छ । कि त सरकारले बनाएको क्वारेन्टाइन पूर्ण रुपमा मापदण्ड पूरा भएको हुनुपर्छ । कि त होटलमा बसेको खर्च पनि सरकारले नै बेहोर्नुपर्छ ।

कोरोनाको महामारीले मुलुक लकडाउन गरेको दुई महिना नाघिसकेको छ । यति लामो अवधिमा पर्याप्त क्वारेन्टाइन बनाउन नसक्ने सरकार कस्तो सरकार हो ?

प्रश्न उब्जिएको छ–हाम्रो सरकार कति गरीब भएछ र आफ्ना नागरिकको क्वारेन्टाइन खर्च पनि ब्यहोर्न नसक्ने ? प्रश्न यति मात्रै होइन, कतै सरकारले होटलको व्यापार बढाउनका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न खोजेको त होइन ? यदी होइन भने, पैसा खर्च गर्नेलाई होटलमा बस, नसक्नेलाई हामी राख्छौँ किन भनिएको छ ? कोरोनाको महामारीले मुलुक लकडाउन गरेको दुई महिना नाघिसकेको छ । यति लामो अवधिमा पर्याप्त क्वारेन्टाइन बनाउन नसक्ने सरकार कस्तो सरकार हो ?

सरकारले बनाएको क्वारेन्टाइनमा बसौँ कोरोनाको जोखिम, होटलमा बसौँ पैसा छैन । पक्कै पनि प्रशस्त पैसा नभएकाल नेपाली दाजुभाइ तथा दिदीबहिनीरुको मनमा यही कुराले सताएको होला ।

उनीहरु सोच्दै होलान्–विदेशमा वेचिएका हामीलाई सरकारले स्वदेश फर्काउने नाममा फेरी बेच्दै छ ।

विदेशिएका नेपालीलाई सहयोग गर्न सरकारको नुन खाएको दुतावासहरु बोल्दा पनि कोरोना लाग्छ जस्तो गरेका छन् । कतै दुतावासलाई भ्रम त छैन ? “विदेशको सडकमा भौँतारिईरहेकानेपालीलाई कोरोना लाग्दैन भन्ने ।”

माथि उल्लेख गरिसकिएको छ कि कस्ता नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नेपाल फर्किन चाहेका छन् भन्ने । उनीहरु अधिकांशसँग अहिले खानको लागि पैसा छैन । उनीहरु यहाँ आएर होटलमा बस्दाको पैसा खै कसरी तिर्छन ? नेपाल फर्कने पैसा कसरी तिर्छन ? अनी सरकारले गर्ने भनेको उद्वार चाँही के ? कि यो व्यापार मात्रै हो ?

ऋण तिर्न विदेश हानिएका नेपालीले स्वदेश फर्किदा फेरी अर्को ऋण टाउको माथि राख्नुपर्ने हो ? यससम्बन्धमा सरकार किन गैरजिम्मेवार बनेको ?

अहिलेसम्म कोरोना संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । त्यसैगरी १४ हजार ४ सयभन्दा धेरै गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा रहेका नेपालीभन्दा विदेशमा रहेका नेपालीहरु कोरोनाको चपेटामा बढि परेको यही तथ्याङ्कले स्पष्ट पार्छ । त्यसैले उनीहरुलाई नेपाल ल्याउँदा कोरोना संक्रमणको जोखिम धेरै हुनेछ । तसर्थ उनीहरुलाई नेपाल ल्याएर सरकारले नै सम्पूर्ण व्यवस्था अर्थात मापदण्डसहितको क्वारेन्टाइन र स्वास्थ्य परिक्षणको व्यवस्था गरिनुपर्छ । त्यति मात्रै होइन, उनीहरुलाई नेपाल आउँदाको हवाइ भाडा खर्चको बोझ बोकाउनु हुँदैछ ।

र अन्त्यमा विदेशी भुमिमा अलपत्र परेका नागरिकलाई उद्वार गर्छु भनेर हिम्मत गर्न नसक्ने सरकारले विदेशी भुमीमा भएका कोरोना संक्रमितको बिषयमा सोच्दा पनि सोचेको छैन होला । समाचारमा आएका डरलाग्दा तथ्याङ्क हेरेर जिब्रो टोक्ने र बस्ने मात्र गरेको देख्छु सरकारले ।

देशको अर्थतन्त्रमा एक तिहाइ हिस्सा सहयोग गरेका ति नेपालीलाई सरकारले आफ्नोपनको आभास दिलाउन पनि सकेन भने अग्नि परिक्षामा कसरी सफल भएको मान्ने ? उनीहरुको भोट र र नोट चलाउने सरकारले उनीहरुको चोटमा मल्हम लगाउन किन सक्दैन ?

एउटा अनुरोध छ–सधैँ दुःख लेख्ने हाम्रा कलमलाई विदेशिएका नेपालीलाई सुखको सन्देश दिने खबर लेख्ने मौका देऊ सरकार ।

(पाण्डे प्राइम टाइम्स टेलिभिजनमा कार्यरत संचारकर्मी हुन् ।)



प्रतिक्रिया दिनुहोस्