Logo

चीनका भगिनी शहरबाट पत्रकारलाई स्वास्थ्य सामग्री



काठमाडौँ, १९ जेठ । पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई दुई हजार पाँच सय सर्जिकल मास्क र दुई थर्मल गन आइतबार प्रदान गरेका छन् । महानगर प्रमुख जिसीले महानगरसँग भगिनी सम्बन्ध भएका चीनका शहरले दिएको स्वास्थ्य सामग्रीमध्ये केही महासंघलाई सहयोग गरिएको बताएका छन् ।

महानगरका उपप्रमुख तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि गठित उच्चस्तरीय समितिका संयोजक गुरुङले आवश्यकताका आधारमा ती सामग्री अन्य संघसंस्था, पोखरासँग सीमा जोडिएका गाउँपालिका, नगरपालिका र पोखराको भगिनी सम्बन्ध भएका नेपालका धरान र धनकुटालाई पनि प्रक्रिया पु¥याएर उपलब्ध गराइने बताएका छन् ।

चीनबाट सामग्री ल्याउन पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पलिखेले समन्वय गरिएको थियो । महानगरपालिकाले भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री प्राप्त भएको हो । भगिनी शहरबाट नौ प्रकारका सामग्री पोखरा आइपुगेको छ । दश हजार सर्जिकल मास्क, तीन सय गाउन, पञ्जा, सुज कभरलगायत सामग्री आएको महानगर अन्तरराष्ट्रिय सम्बन्ध समन्वयकर्ता तथा महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्