Logo

मेलम्ची आयोजनाको जग्गा अतिक्रमित



काठमाडौँ, १९ जेठ । मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन अधिग्रहण गरिएको जग्गा अतिक्रमण हुन थाले पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउन करिब पाँच किलोमिटर स्थानमा जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको करिब २५ मिटर चौडाइमुनि एक हजार ४०० मिलिमिटर व्यासको पाइप बिच्छ्याइएको छ । त्यसमाथि सडकका रूपमा उपयोग भइरहेको छ । करिब २५ मिटर चौडाइको भागको संरक्षणमा कुनै निकाय देखा नपरेकाले हाल नगरपालिकाको वडा नं १, २ र ४ का करिब दर्जन स्थानमा जग्गा मिचिएको छ ।

थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउने बेलामा नै २५ मिटर दूरीको दायाँ बायाँ नै सिमेन्टका साना पिलर गाडिएको छ । पिलरलाई जग्गाभित्र पार्दै मकै, तरकारीलगायत बाली रोपेको प्रष्ट देखिए पनि कसैले नरोप नभनेको स्थानीयवासी रामबहादुर श्रेष्ठले बताएका छन् । वाग्मती किनारका विभिन्न स्थानमा सुकुम्वासीका नाममा अतिक्रमण गरिएजस्तै हुनसक्ने भएकाले सरोकार भएका निकायको बेलैमा ध्यान जानुपर्ने उनको भनाइ छ ।

मुनि ठूला पाइप बिच्छ्याएर माथि राजमार्गको जत्तिकै सडक खाली रहेकाले मालबाहक सवारी पनि यो बाटोमा कुद्ने गरेका छन् । एक हजार ४०० मिलिमिटर व्यासको पाइप जमीनभन्दा तीन मिटर तल रहेकाले सवारी हिँड्दा असर नगर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताएका छन् ।

आयोजनाले अधिग्रहण गरेको जग्गा अतिक्रमण गर्न भने नपाइने उनले सुनाएका छन् । यो सडकमा एक वर्षभित्र याङ्री र लार्के खोलाको पानी ल्याउँदा वितरणका लागि अर्को एक हजार ६०० मिलिमिटरदेखि एक हजार ८०० मिलिमिटर व्यासको पाइप बिच्छ्याउनुपर्ने हुन्छ । सिन्धुपाल्चोकका तीन खोलाबाट गरी दैनिक ५१ करोड लिटर पानी राजधानी ल्याउने योजना छ । (रासस)



प्रतिक्रिया दिनुहोस्