Logo

खोरिया फाँड्दै पूर्वसांसद



काठमाडौँ, १९ जेठ । जिल्लामा निर्वाचन जितेपछि धेरै जनप्रतिनिधि राजधानीमै हराउँछन् । कानून बनाउन काठमाडौँ हानिने अधिकांश जनप्रतिनिधि जिल्ला भने कमै मात्र फर्कन्छन् ।

यहाँबाट निर्वाचित पूर्वसांसद लेखनाथ आचार्यले भने यस्ता थुप्रै पात्रभन्दा फरक पहिचान दिएका छन् । रोल्पा जिल्लाबाट सुरेन्द्र हमालपछि विसं २०५६ मा रोल्पाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचन जित्ने उनी दोस्रो व्यक्तित्व हुन । विसं २०५६ को संसदीय निर्वाचनमा रोल्पाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएसंँगै उनको संसदीय यात्रा शुरु भयो । रोल्पाबाट काठमाडौँ जानै सकस । कतिबेला माओवादीको तारो भइने हो कि भन्ने चिन्ता थियो ।

सांसद निर्वाचित भएपछि जसोतसो उनी रोल्पाबाट काठमाडौँ आइपुगेका हुन । आचार्य प्रतिनिधिसभा, प्राकृतिक स्रोेत साधन समितिका सभापति पनि बने । संसदीय समितिमा रहँदा उनले आफूले प्राकृतिक स्रोत व्यवस्थापनका धेरै जनपक्षीय काम गरेको सम्झन्छन । “जल र जङ्गल जस्ता नेपालका अपार प्राकृतिक स्रोतको उपयोगबाट देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुन्थ्यो”, आचार्यले भने ।

तत्कालीन अवस्थामा सांसदको मासिक पारिश्रमिक रु १८ हजार हुन्थ्यो । सशस्त्र द्वन्द्वका कारण जिल्ला बस्न नसकेका कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र तत्कालीन नेकपा(एमाले)का समर्थक, शुभचिन्तक तथा नेता कार्यकर्ता उनको काठमाडौँस्थित डेरामा पुग्थे । जिल्ला फर्कन सक्ने अवस्था नभएका ती नेता कार्यकर्ता महिनाँैसम्म काठमाडौँमा उनकै डेरामा बस्थे । जिल्लावासीको बसाइ र खानपानमै सांसद आचार्यको तलब सकिन्थ्यो । (रासस)



प्रतिक्रिया दिनुहोस्