Logo

लकडाउनको स्वरुप परिवर्तन भएको छ-विश्वराज पोखरेल, भ्याली डिआइजी



काठमाडौं, १९ जेठ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेल कोभिड १९ रोकथामका लागि सरकारले गरेको लकडाउन घोषणाको पूर्ण पालना गराउन अहोरात्र खटिएका छन् । उपत्यकामा शान्तिसुरक्षा कायम गराउन उनले खेलेको भुमिकामा धेरैको ध्यान गएको छ । लकडाउनको पालना गराउन प्रहरीले खेलेको भुमिकाले पनि कोरोना रोकथाममा विशेष योगदान पुगेको छ । यीनै सेरोफेरोमा पोखरेलसँग ऋषि धमलाले गरेको कुराकानीः
अब लकडाउन खुकुलो भएको हो, काम गर्न समस्या हुँदैन ?
लकडाउन खुकुलो भएको छैन । लकडाउनमा सरकारले केही आवश्यक ठानेको विषयमा सहजीकरण गरेको छ । यसलाई उपयोग गरेर आफ्ना समस्याको समाधान गर्ने र लकडाउनलाई पालना गर्दै आफ्नो सुरक्षा आफैले गर्ने हो । अब लकडाउन खुकुलो भयो भनेर जाँदा हामीलाई संक्रमणको जोखिम हुन सक्छ । त्यसतर्पm ध्यान दिनु जरुरी हुन्छ ।
लकडाउनलाई निरन्तरता दिँदा मान्छेहरु भोकभोकै मर्ने भए नि ?
यस सम्बन्धमा सरकारले अध्ययन गरिराखेको छ । लकडाउनलाई कुन मोडेलमा लैजाँदा वैज्ञानिक र प्रभावकारी हुन्छ । त्यसबाट जनतालाई पनि सहज हुन्छ भन्ने कुरा सरकारले अध्ययन गरिराखेका हुन्छ । हामीले त सरकारको निर्देशन र आदेशको पालना गर्ने हो । त्यसबाट हामी सबै सहजिकरणतिर उन्मुख हुन्छौं ।
लकडाउनलाई खुकुलो पार्नुपर्छ भनेर तपाईंहरुले पनि सरकारलाई सुझाव दिनुभएको छ ?
हामीले सुझाव दिनेभन्दा पनि सरकारले जुन मोडलको लकडाउन लागु गरेको हुन्छ त्यसलाई कार्यान्वयन गर्ने काममा सक्रिय हुन्छौं ।
लकडाउनलाई जनताले पूर्ण रुपमा पलना गरेनन् नि सडकमा गाडीहरु त घुइचो देखिन्छ ?
अहिले पहिलाको जस्तो पूर्ण रुपमा सवारीलाई निषेध गरिएको छैन । समय र परिस्थिति अनुसार केही सहज छ । त्यसैले विभिन्न खाद्यन्नसँग जोडिएका, निर्माणसँग जोडिएका, विद्युत र सञ्चारसँग जोडिएको सवारी साधनहरु अवस्था हेरेर सञ्चालन भइरहेका छन् । त्यसले सरकारले लकडाउनलाई खुकुलो गरेको अवस्था होइन । केही अवस्था हेरेर सहज गरेको हो । यो महिनाभरिलाई त सरकारले लकडाउनको घोषणा गरिरहेको छ । यिनै प्रयोजनका लागि निस्किएका सवारी साधनहरु हुन् । अन्य हिसावले हेर्दा मात्रै लकडाउन खुकुलो भएको जस्तो देखिन्छ तर त्यो होइन ।
त्यसोभए लकडाउन खुकुलो भएको छैन ?
खुकुलोभन्दा पनि पहिलो महिनाको भन्दा स्वरुपमा परिवर्तन भएको छ । अहिले जे–जति गाडीहरु निस्किएका छन् ती सबै लकडाउनका परिधिभित्रैबाट निस्किएका हुन् । अहिलेको छुट भनेको वित्तीय क्षेत्र, सञ्चार, उद्योग, विकास निर्माणका कामहरु जुन सरकारले छुट दिएको छ । त्यो क्षेत्रमा काम गर्नको लागि छुट दिइएको छ । त्यसअन्तर्गतका सवारी साधनहरु हुन् । त्यही अनुसार निस्किएका मानिसहरु हुन् ।
लकडाउनको बेला अपराधका घटनाहरु किन बढे ?
विगतको अवधि र लकडाउनको अवधिलाई तुलना गरेर हेर्ने हो भने अपराधका घटनाहरु धेरै कम भएका छन् । किन भने यसमा नचाहिने चलखेल पनि भएनन् । सबै नागरिकहरु घरमै बसे । जसका कारणले चोरीका घटनाहरु पनि हुन पाएनन् । फेरि लकडाउनको अन्ततिरका केही घटनाहरु हुन थालेका छन् । त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर हामीले अध्ययन पनि गरिरहेका छौं । त्यसैले लकडाउन अगाडि र अहिलेलाई तुलना गरेर हेर्ने हो भनेर अपराधका घटनाहरु धेरै कम भएका छन् ।
बलात्कारको घटना पनि घटेको छ रे नि ?
त्यही त भनेको जस्तो गत सालको यही दुई महिना र अहिलेको दुई महिनालाई तुलना गरेर हेर्दा बलात्कारका घटनाहरु पनि धेरै कम भएका छन् । तर फेरि लकडाउनमा पनि केही घटनाहरु भइरहेका छन् । नागरिकहरु घरमै बसेपनि घटनाहरु छिटफुट रुपमा भइराखेका छन् । तर, अघिपछिको भन्दा सानो संख्यामा घटना भएको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्