Logo

फौजी किरा नियन्त्रण गर्दै दुल्लु नगरपालिका



काठमाडौँ, २० जेठ । दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो ।

आइतबारदेखि १३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक रु ६०० पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले जानकारी दिएका छन् ।

“किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर’ र ‘न्यापस्याक टर्की’ लगायतका विषादी प्रयोग गरेका छौँ”, उनले भने । नगरपालिकाले सबै वडामा रोगसँग भोकको प्रकोप फैलिने सम्भावनाको नियन्त्रणका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ । यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ । (रासस)



प्रतिक्रिया दिनुहोस्