Logo

भूकम्पपीडितका सबै गुनासो फस्र्योट, पुनरावेदनमा जान पाइने



काठमाडौँ, २० जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न चरणका सर्वेक्षणबाट सङ्कलन गरिएका सबै गुनासो फस्र्योट गरेको छ ।

सबै माध्यम र चरणमा गरी प्राधिकरणको प्रणालीमा दर्ता भएका छ लाख ३४ हजार ९७३ गुनासो छिनोफानो गरिएको हो । सबै गुनासो सम्बोधनपछि कूल एक लाख छ हजार ४६५ पुनःनिर्माण र ६७ हजार ६८१ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिएका छन् ।

प्राधिकरणले गरेको शुरुआती सर्वेक्षणबाट किटान गरेको लाभग्राही सूचीमा नाम नपरेको भन्दै गुनासा आउन थालेपछि पहिलो चरणमा अति प्रभावित १४ जिल्लामा वि.सं २०७४ असार मसान्तसम्ममा गुनासो दर्ता खुला गरिएको थियो । ती गुनासोको केन्द्रमा विश्लेषण गरी लाभग्राही एवं गैरलाभग्राही कायम गरिएको प्राधिकरणले जनाएको छ ।

वि.सं २०७३ फागुनमा बसेको प्राधिकरण निर्देशक समिति बैठकले गैरलाभग्राहीको पनि एकपटक स्थलगत परीक्षण गर्ने निर्णय गरेपछि २०७४ साउनदेखि कात्तिक २१ गतेसम्म अतिप्रभावित १४ जिल्लामा ३३२ इञ्जीनियर तथा त्यत्तिकै सङ्ख्यामा सामाजिक परिचालकसहितको टोली खटाई छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको थियो ।

त्यसक्रममा व्यापक सङ्ख्यामा नयाँ गुनासो दर्ता भएपछि सर्वेक्षण तोकिएको समयमा सम्पन्न हुनसकेको थिएन । एक लाख २९ हजार ४१० गुनासोकर्ताको सर्वेक्षण सम्पन्न भएको थियो । सङ्घीय संसद्को निर्वाचनका कारण २०७४ कात्तिक अन्तिम सातामा सर्वेक्षण स्थगन भयो । (रासस)



प्रतिक्रिया दिनुहोस्