Logo

मिथिलामा उत्सवका रूपमा तुलसीको दल राखिँदै



काठमाडौँ, २० जेठ । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् ।

जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो । पूर्वीय दर्शन परम्परामा तुलसीको निकै महत्व रहँदै आएको छ । विविध औषधीय गुणले युक्त तुलसी जेठ शुक्ल एकादशीका दिन दल राखेर एक महिनापछि असार शुक्ल एकादशीका दिन पवित्र मठमा रोप्ने हिन्दू मैथिल परम्परा छ ।

हरिशयनी भनिने असार शुक्ल एकादशीका दिन आराध्यदेव भगवान् विष्णु समुद्रमा शयन गर्ने र हरिबोधिनी भनिने कात्तिक शुक्ल एकादशीका दिन जागा हुने हिन्दू जनविश्वास छ । धरातल (पृथ्वी) मा रहेका वनस्पतिमा तुलसीलाई ‘अमृत’ का रूपमा औषधीय महत्वको मानिँदै आइएको छ ।

खासगरी भगवान् विष्णुसँग जोडिने सबै अनुष्ठानमा तुलसी पत्र (पात) अनिवार्य मानिने हुँदा हिन्दू मैथिल घरघरमै पवित्र मठ बनाएर तुलसी रोपण गरिन्छ । जेठ शुक्ल एकादशी अर्थात् आज दल राखिएको तुलसी एक महिनापछि रोप्न योग्य हुने मान्यताअनुरूप असार शुक्ल एकादशीकै दिन पारेर रोपिन्छ । (रासस)



प्रतिक्रिया दिनुहोस्