Logo

लकडाउनको मोडालिटी परिवर्तनको निर्णयको बिन्दुमा सरकार पुगिसकेको छ- डा. खेम कार्की, विज्ञ सल्लाहकार स्वास्थ्य मन्त्रालय



काठमाडौं, २० जेठ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले लकडाउनको ढाँचा परिवर्तन हुने खुलाएका छन् । उनले कुन कुन क्षेत्र जोखिम छ हेरेर ढाँचा परिवर्तन गरिने बताए । यीनै सेरोफेरोमा डा. कार्कीले रेडियो एनआरएनसँग ऋषि धमलाले गरेको कुराकानीः
जनता धेरै समस्यामा परिसके अब लकडाउनको ढाँचा परिवर्तन हुन्छ कि हुँदैन ?
अहिले सबैभन्दा धेरै चर्चाको विषय लकडाउनको ढाँचा परिवर्तन गर्ने हो । त्यसको तयारी भइरहेको छ । फेर्नुपनि पर्छ । हामीले दुई महिनाभन्दा बढी एक खालको लकडाउनको अभ्यास ग¥यौं । यसमा केही हदसम्म हामी सफल भयौं । जसरी विदेशबाट मान्छेहरु आएका थिए । तिनीहरु देशका विभिन्न भागमा पुगेका पनि थिए । तर, उनीहरुले रोग सारेनन् । फाट्टफुट्ट केही ठाउँमा देखिए पनि समुदायमा त्यति फैलिन पाएन । त्यो लकडाउनले काम गरेको हो । तर, दुर्भाग्य ओपन बोर्डरको कारणले खासखास ठाउँमा बन्द भए पनि अनधिकृत ढंगले आउने मान्छेहरु रोक्न सकेनौं । पछिलो समय भारतमा संक्रमण फैलिँदै जाने र भारत काम गर्न गएको नेपालीहरु पनि संक्रमित भएर आउने कारणले संक्रमण बढ्यो । अब लकडाउनलाई हिजोको भन्दा फरक प्रकृतिले जानुपर्छ भन्ने सबैलाई महसुस भएको छ ।
मजदुरहरु खान नपाएर रोइरहेका छन्, तपाईंहरु किन निर्णय गर्नुहुन्न ?
यो कुरा स्वभाविक हो । लकडाउनका विषयमा आजका पत्रपत्रिका र सञ्चारमाध्यमहरुबाट सबैले थाहा पाउनुभएको छ । हिजोदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जे मोडालिटीमा लकडाउन गरेको थियो । हिजोदेखि त्यही विषयमा कसरी तय गर्ने भनेर छलफल भइरहेको छ । अब लकडाउनको मोडालिटी जोखिमको परिस्थिति हेरेर परिवर्तन हुन्छ । विभिन्न ठाउँ हेरेर मोडालिटी परिवर्तन गर्ने भनेर निर्णयको बिन्दुमा पुगिसकेको छ । अब छिट्टै नै नेपाल सरकारले निर्णय गर्छ ।
राजधानीमा दर्जनौं एम्बुलेन्सहरु छन्, तर डम्बरबहादुर सिंखडाको लागि काम लागेनन् त्यतातिर तपाईंहरुको ध्यान जाँदैन ?
त्यो कुरामा हामी एकदमै सम्वेदनशील छौं । यिनै विषयलाई मध्यनजर गर्दै देशभरका एम्बुलेन्सलाई एउटै नम्बरबाट अन्तर्राष्ट्रिय स्तरको मोडालिटीबाट सञ्चालन गर्नें भनेर कार्यक्रम नै ल्याएका छौं । अहिले एम्बुलेन्सहरुको सेवामा अलिकति प्रभावकारिता बढाउनुपर्छ भन्ने नै हो । लकडाउनका बेला पनि एम्बुलेन्स, तरकारीलगायत खाद्यन्नका अत्यावश्यक साधनलाई निरन्तरता दिएको हो । तर, मान्छेहरुमा यो नयाँ संक्रमण भएकाले एम्बुलेन्स चालकदेखि लिएर सबैमा एक खालको भयाभहको स्थिति सिर्जना भयो । त्यसले पनि सेवाहरु भनेको बेलामा नपाइएको हो । यसमा सबैभन्दा ठूलो कुरा चेतनाको स्तर नै हो । तपाईंले भनेको कुराहरुबाट विस्तारै परिवर्तन भइराखेको छ ।
डम्बरबहादुर पीडा देख्दा त मान्छेहरु रोएका छन् नि ?
लकडाउनका बेलामा यस्तो पीडाले धेरैलाई मारमा पारेको छ ।
तपाईंको नेतृत्व गफै मात्र गर्ने, काम केही केही गर्न नसक्ने भएर किन चुक्यो जनतालाई भनिदिनुस् न ?
हाम्रो नेतृत्व गफै मात्र गर्ने त होइन । विगत तीन, चार महिनादेखिको अवधिलाई हेर्नुभयो भने हामीले धेरै राम्रा काम पनि गरेका छौं । संघीय मन्त्रालयको हैसियतले हामीले गर्नुपर्ने अहिले फैलिएको माहामारीको नियन्त्रण हो । त्यसमा प्राविधिक र नीतिगत रुपमा सिंगो अरु सरकारहरुलाई समेत नेतृत्व गर्नुपर्ने काम भएको छ । त्यसको लागि प्रोटोकल, गाइडलाइन बनाउने काम थियो । खासगरी खरिद प्रक्रिया, आपूर्तिमा त अरु सरकारहरुलाई पनि सहयोग गर्ने हो । अहिले जसरी माहामारी फैलिरहेको छ । त्यसको नियन्त्रणका सामाग्रीहरु हाम्रो देशमा उत्पादन हुँदैन । सबै विदेशबाट ल्याउनुपर्ने हुन्छ । त्यसको लागि विशेष रुपमा ध्यान दिएर लागेका छौं र भइपनि रहेको छ । तर, जति हामीले गर्न सक्थ्यौं, गर्नुपथ्र्यो त्यति गर्न सकिराखेको अवस्था छैन । यसमा धेरै खालका चुनौतिहरु हामीसँग छन् । त्यसको वाबजुद पनि कोरोना संक्रमित व्यक्तिहरुलाई आवश्यक उपचार र व्यावस्थापन गर्न विशेष ढंगले लागिरहेका छौं । महामारी व्यवस्थापनमा स्वास्थ्यको मात्रै नभएर सबै कुराहरु जस्तो क्वारेन्टाइन बनाउने, खाद्यन्न व्यवस्थापन, औषधि उपचार, यातायात लगायत सबैतिर ध्यान दिनुपर्छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यको क्षेत्रमा मात्रै काम गर्ने हो । तर अरु क्षेत्रको पनि सहयोग चाहिन्छ । त्यसको लागि सरकार प्रयत्नशील छ ।
क्वारेन्टाइनलाई पनि होम क्वारेन्टाइन भनेर सरकार पन्छिन खोज्दैछ, कोरोना नियन्त्रणका लागि जसरी तपाईंहरुले पर्याप्त तयारी गर्नुपथ्र्यो त्यो गर्न सक्दा व्यवस्थापन गर्न गाह्रो भएको छ नि ?
हाम्रो स्वास्थ्यको प्रणालीलाई हिजोदेखि नै जसरी चुस्त, दुरुस्त राख्नुपर्ने थियो । त्यो राख्न नसकेको कुरा त स्वाभाविकै हो । किन भने कहिल्यै पनि हाम्रो स्वास्थ्य मन्त्रालय चाहीं ठूला पार्टीको पूर्व राष्ट्रपति डा. रामबरण यादव त्यतिबेला स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । त्यसदेखि बाहेक स्वास्थ्य मन्त्रालयले ठूलो राजनीतिक पार्टीको आकर्षणमा परेन । ठूलो पार्टीको मान्छे स्वास्थ्य मन्त्री नहुनुले पनि कमजोर भएको थियो । त्यस्तो कमजोर प्रणालीबाट आएको ठाउँ भएकाले अहिलेको महामारी व्यवस्थापन गर्न अप्ठ्यारो भएको हो । पछिल्लो दिनमा राम्रा काम त गरिरहेको छ । जस्तो मातृमृत्यु दरको सुचकांक आएको छ । तर, संक्रमण नियन्त्रण गर्ने कुरामा हाम्रो प्रणाली त्यति राम्रो भएन । सँगै मुलुक संघीय प्रणालीमा आइसकेपछि स्वास्थ्य क्षेत्रलाई जे–जसरी संघीय प्रणाली अन्तर्गत व्यवस्थित गर्नुपर्ने हो त्यो हुन सकेन । त्यति हुँदाहुँदै पनि स्थानीय र प्रदेश सरकारका स्वास्थ्यको क्षेत्रलाई पनि सक्रिय राखेका छौं । त्यही सक्रियताका कारण नै समुदायलाई संक्रमणबाट जोगाएका छौं । अहिले जनि तराईमा संक्रमितहरु देखिनुभएको छ । उहाँहरु भारतका विभिन्न ठाउँबाट आउनुभएको हो । त्यसले हामीले गर्न नसकेको भन्ने चाहीं होइन ।
तपाईंहरुले राम्रो काम गर्न सक्नुभएको छैन स्वीकानुस् क्या यो बेला संक्रमणले भन्दा सयौं गुणा आत्महत्याबाट मरिरहेका छन्, दुर्घटना भइरहेको छ अनि कसरी राम्रो काम भयो ?
त्यही भएर हामीले जसरी अन्तर्राष्ट्रिय रुपमा ६, ७ महिनादेखि कोरोना भाइरसविरुद्ध लड्न जुन अभ्यास भएको देखियो । त्यसबाट कोरोनासँग लड्न सक्रमण नियन्त्रण गर्न सफल भएको छ । त्यही भएर हामीले पनि यसबाट बँचेर कार्यक्रमहरुलाई अगाडि लानुपर्छ । अब व्यवसाय र कोरोनालाई सँगसँगै लिएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
भारतमा संक्रमण बढिरहँदा पनि खुल्ला गरियो नि ?
भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय अनुभव नै यही हो । युरोपका धेरै मुलुकहरु खुलिसके । भारतमा पहिला जुनखालको लकडाउन थियो अहिले विस्तारै सहज बनाउँदै गएको छ । हामीले पनि त्यही ढंगले अगाडि बढ्नुपर्छ । अहिलेसम्म हाम्रोमा देखिएको संक्रमण अरु मुलुकबाट आयातित नै बढी हो । खासगरी अहिले डब्ल्यूएचओले बनाएको अन्तर्राष्ट्रिय नियमावली छ । त्यसमा कुनै एउटा देशको नागरिक अर्को देशमा जानुपर्दा निरोगितारको प्रमाण पेश गर्नुपर्ने भनिएको छ । त्यो हुँदाहुँदै पनि हामीले त्यसलाई कार्यान्वयन गर्न सकेका छैनौं । भारतबाट आउने दाजुभाइ पनि त्यही मुलुकबाट सर्टिफाइ भएर आउनुपर्ने थियो । त्यसरी निरोगीताको प्रमाणका आधारमा मात्रै आउने परिस्थिति गराउन सकेको भए आजको परिस्थिति सिर्जना हुने थिएन । यसरी अन्तर्राष्ट्रि विश्व स्वास्थ्य संगठनले बनाइदिएका नियम पनि हामीले लागु गर्न सकेका छैनौं । अब तेस्रो मुलुकबाट प्लेनमार्फत आउने व्यक्तिहरुमा त्यो नियमि लागु गर्न सक्यौं भने मात्रै पनि हामीलाई त्यति अप्ठ्यारो पर्दैन । त्यसैले अहिलेको समस्या भनेको राष्ट्रिय रुपमा भन्दा पनि अन्र्राष्ट्रिय नियमावलीहरुलाई पछ्याउनुपर्ने खालका भएकाले त्यसलाई पनि निरन्तरता दिने छौं । अब हामीले आर्थिक गतिविधिसँग कोरोनासँग पनि लड्न सिक्नुपर्छ । रोग रोकथामको सबै खाले उपायहरु अपनाएर उत्पादनका क्षेत्र सञ्चालन नगरिकन अब सम्भवै छैन ।



प्रतिक्रिया दिनुहोस्