Logo

अमेरिकामा रङ्गभेदले एकजना मारिंदा दंगा, नेपालमा पाँच मारिंदा संयमित छन् दलित समुदाय



काठमाडौं, २० जेठ । अमेरिकामा एकजना काला जातिका व्यक्तिलाई प्रहरीले घाँटी थिचेर हत्या गरेको घटनाले चर्किएको विरोधले हिंसात्मक रुप लिएको छ । त्यहाँ हिंसा भड्किएर लुटपाट र दंगा भइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसामा उत्रनेलाई सेना परिचालन गरेर भएपनि दबाउने चेतावनी दिइसकेका छन् ।

अमेरिकामा रङ्गभेद जस्तै नेपालमा जातीय विभेद कायमै छ । दलित समुदायमाथि छुवाछुत र विभेद छ । यस्तै विभेदकारी सोचका कारण रुकुमको सोतीमा पाँच जना युवकको ज्यान गयो र एकजना अझै वेपत्ता छन् ।

सोती घटनामा दलित समुदायका नवराज विक एकजना मल्ल थरकी किशोरीसँग प्रेम सम्बन्धमा परेको र उनलाई घरमै हुल बाँधेर युवाहरु पुग्दा मारिएका थिए । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो । यसबारे सरकार र मानवअधिकारवादीले छानविन गरिरहेका छन् । तर, प्रारम्भिक अनुसन्धानले युवाहरुको हत्या भएको देखिएको छ ।

घटनाको कारण जातीय विभेद पनि देखिएको छ । घटनाको विरोधमा प्रदर्शन भएपनि दलित समुदाय संयमित भएका छन् । उनीहरुले कुनै हिंसात्मक गतिविधि गरेनन् । कानुन बमोजिम कारबाहीको माग गर्दै प्रदर्शन भने गरे ।

दोषी को
एउटी किशोरीसँगको प्रेम सम्बन्धले प्रेमिका मात्र नभई उनका साथीहरुको समेत ज्यान लिएको रुकुम घटनामा अनेकन अड्कलवाजीहरु भइरहेका छन् । घटनामा पाँच जना युवाको शव भेरी नदीबाट निकालिएको र एकजना वेपत्ता भएका छन् । लकडाउनका बाबजुद संसद देखि सडकसम्म चर्को आवाजका साथ उठेको सोती घटनाको विषयबारे सत्यतथ्य के हो ? यसको छानविनको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि मात्र तथ्य बाहिर आउनेछ ।

सोती घटनाको छानविन गर्न गृहमन्त्रालयको टोली घटनास्थल १६ जेठमै पुगेर सुचना संकलन गरेको थियो । मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगेको छ ।

गाउँ नै उल्टेर १९ जनाको समुहमा आएका युवकहरुमाथि आक्रमण भएको थियो । वैशालु उमेरका युवाहरु हुल बाँधेर गाउँमा किशोरीलाई लिन भनेर पुगेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट किशोरीले एसएमएस गरी डाकेको समेत पत्ता लागेको छ । ५ जनाको पोष्टमार्टम रिपोर्ट आइसकको छ । हात बाँधिएको अवस्थामा एकजनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । टाउकोमा चोटहरु पनि देखिएको विषय पनि आएको छ ।

घटनामा मुख्य व्यक्ति थिए जाजरकोटका नवराज विक र रुकुमकी मल्ल थरकी १७ वर्षीया किशोरी । घरपरिवारबाट अप्ठ्यारोमा परेँ भन्दै १७ वर्षीया प्रेमिकाले लिन आउनु भनी सन्देश पठाएपछि ज्यानको बाजी लगाएर पुगेका थिए नवराज । प्रेमिकाले डाकेपछि १० जेठमा १९ जनाको हुल बाँधेर जाजरकोटबाट रुकुम पश्चिम चौरजहारीको सोती गाउँ पुगेका थिए ।

प्रत्यक्षदर्शी र पीडित पक्षको बयानका आधारमा क्रममा युवकहरु जर्बजस्ती अपहरणको शैलीमा किशोरीलाई लिन नगएको खुलिसकेको छ । युवक र किशोरी लामो प्रेमसम्बन्ध रहेको तथ्य फेला पारेको छ । युवक र युवतीको कल डिटेल र मेसेज आदानप्रदानको डिटेल समेतबाट अनुसन्धान गर्दा एउटा मेसेज महत्वपूर्ण देखिएको छ जसमा गर्भवती छु, सथीहरुसहित लिन आउनु भनिएको छ । यद्यपि, किशोरीले पछिल्लोपटक आफ्नो प्रेमसम्बन्ध टुटिसकेको थियो भनेको बुझिएको छ । उनको यो भनाई विवादास्पद देखिन्छ ।

हुल बाँधेर पुगेका युवकहरु घर नपुग्दै गाउँ उल्टेर आक्रमणमा उत्रिएका थिए । उनीहरुबीच भागाभाग मच्चियो । कतिले कुटाई खाए त कति भाग्न सफल भए । गावै उल्टेर आएपछि उनीहरुको केही लागेन । भेरी नदीमा हामफालेर तर्न खोज्दा पनि यसपटक छ जना असफल भए । जसमध्ये प्रेमी नवराज विक पनि थिए । भेरीमा फाल हालेर भाग्दा भाग्दै आफूहरुमाथि ढुंगा बर्सिएको बचेका युवकहरुले बयान दिएको बुझिएको छ ।

जात बन्यो विवाहको बाधक
नवराज विक र मल्ल थरकी किशोरीबीचको प्रेममा जात बाधक बनेन तर विवाहको बाधक जात बन्यो । युवक दलित समुदायको हुनु र युवती ठकुरी समुदायको हुनुले पनि परिवारले अस्वीकार गर्दा घटना घट्न पुगेको देखिन्छ । युवक किशोरीप्रति आशक्त थिए । किशोरी पनि नवराजको घरमा पुगिरहन्थिन् । तर, त्यो सामिप्यता र प्रेम भेरीको भेलले बगायो ।

नवराज र मल्ल थरकी किशोरीबीचको प्रेम मात्र बगेन उनीहरुको प्रेमलाई सफल बनाउन पुगेकाहरु पनि भेलमै बगे ।



प्रतिक्रिया दिनुहोस्