Logo

शिक्षकबाट मालपोतको खरिदारसम्म, २२ वर्षमा १० करोडको गैरकानुनी सम्पत्ति



काठमाडौं, २० जेठ । भूमीसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालको १० करोडभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ। ढकालले गैरकानूनी आर्जनबाट उक्त सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

२०५४ माघ १४ गते अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी ढकाल मालपोत कार्यालय लमजुङ्गबाट खरिदारको पदमा मिति २०५५ असोज १६ गते स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका थिए।

शाखा अधिकृतको पदमा बढुवा भएका ढकालले निजामती सेवामा प्रवेश पश्चात मालपोत कार्यालयहरू तनहुँ, कास्की, डिल्लिबजार, काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरूमा कार्यरत रही हाल मालपोत कार्यालय, ललितपुरमा कार्यरत रहेका छन्।

यस अवधिसम्ममा ढकालले १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ सम्पत्ति कमाएको अख्तियारले जनाएको छ। गैरकानूनी कामबाट आर्जन गरेको उक्त सम्पत्ति लुकाउन ढकालले श्रीमती, सालीदेखि जेठानसम्मलाई प्रयोग गरेको पाइएको छ। ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेका आयोगले उल्लेख गरेको छ।

जेठान नाताका नाममा जनता बैंकमा नयाँ खाता खोली उक्त खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिई ढकालले ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ जम्मा गरेको पाइएको आयोगले बताएको छ ।

त्यसैगरी, ढकाल तनहुँ जिल्लास्थित मालपोत कार्यालयमा कार्यरत रहँदा तनुहँकै डेकबहादुर गुरुङ्गको नाममा भएको जग्गा कुनै किसिमको खरिद बिक्री नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोबार देखाई आफ्नो नाममा समेत ल्याएको अख्तियारले जनाएको छ।

ढकाल लगायत उनकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्