Logo

१९५० को सन्धी खारेजीको सुझाव दिदै राजा मोहनले लेखे- नेपालसँग ‘विशेष सम्बन्ध’को साटो भारतको स्वार्थमा आधारित सम्बन्ध



काठमाडौं, २० जेठ । भारतका एकजना अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक मामलाका जानकारले भारतले नेपालको चीनसँगको सम्बन्धको विरोध गर्ने भन्दा नेपालसँगको सम्बन्धलाई भावनामा भन्दा यथार्थपरक रुपमा बलियो बनाउनतर्फ लाग्नुपर्ने सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धका जानकार सी राजा मोहनले नेपालको भुराजनीतिक अवस्थिति र सामरिक अवस्थालाई दृष्टिगत गरी भावनामा भन्दा यथार्थमा आधारित रहेर सम्बन्ध अझ बलियो बनाउने नीति अलबम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक मामलाका जानकार सी राजा मोहन

‘दिल्लीले चीनसँग नेपालको सम्बन्धको विरोध गर्नेभन्दा आफ्नै सम्बन्ध बलियो बनाउनेतर्फ केन्द्रित हनुपर्छ,’ सी राजा मोहनले इन्डियन एक्सप्रेसमा आज लेखमार्फत् भनेका छन्, ‘नेपालको आर्थिक भुगोलको तर्क र सन्तुलित राजनीतिका बाबजुद दिल्लीले आफ्नो स्वार्थलाई प्रभावकारी बनाउन बलियो ढाँचाका साथ नेपालसँगको भविष्यको सम्बन्धलाई निरन्तरता दिनसक्छ ।’

राजा मोहनले भारतले नेपालसँग भएको सन् १९५० को सन्धीको साटो अर्को सन्धी गर्न पति सुझाव दिएका छन् । उनले १९५० को सन्धीको विकल्पमा पुनरावलोकन गर्न, बदल्न या रद्द गर्न उनले जोड दिएका हुन् । भुटानसँग १९४९ को सन्धी यसरी नै बदलिएको स्मरण गराउँदै नेपालसँग पनि गर्न सकिने लेखेका छन् । उनले भनेका छन्, ‘कुनैपनि देशबीचको द्विपक्षीय सम्बन्ध भावनामा आधारित हुँदैन बरु विश्वास, विचारधारा वा विरासतमा आधारित हुन्छ । ती साझा स्वार्थको जगमा रहेर भोगिन्छ ।’

उनले नेपालसँगको विशेष सम्बन्धको देखावटीभन्दा काठमाडौंसँग स्वार्थमा आधारित साझेदारी गर्न सुझाव दिएका छन् । उनले यसबाट दुवै पक्षमा दीगो र बलियो साथ हुने समेत भनेका छन् ।

सन् १९५० को सन्धीमा नेपाल र भारतबीच खुल्ला आवतजावत, भीसारहित प्रवेश देखि नेपाली नागरिकले भारतको सेना र प्रशासनमा समेत प्रवेश पाउने आधार तयार गरेको छ । राजा मोहनले काठमाडौंको ठुलो तप्काले विशेष सम्बन्ध चाहँदैन भने दिल्ली त्यसैमा लालायित भएर बस्न नहुने लेखेका छन् । उनले लेखेका छन् , ‘यदि दिल्ली काठमाडौंसँग सामान्य सम्बन्ध चाहन्छ भने सन् १९५० को सन्धी, नेपाली नागरिकलाई भारतमा राष्ट्रकै नागरिक जस्तो व्यवहार, व्यापार र ट्रान्जिटको प्रबन्ध, खुल्ला सीमा र भीसारहित यात्रालगायत द्विपक्षीय विषयमा सबै सहमतिका विषयहरु वार्ताको टेबुलमा राख्नुपर्छ ।’

१९५० को सन्धी खारेज भएर नेपाली नागरिकले भारतको नागरिक सरह त्यहाँ पाइआएको अवसर खारेज भएमा नेपालीहरुको सैनिक र प्रशासनमा प्रवेश बन्द हुनेछ । नेपालीहरु विना भीसा भारतमा जान पाउनेछैनन् र भारतीयहरु पनि नेपालमा आउन पाउनेछैनन् । भारतमा नेपालीका लागि वार्षिक लाखौंको संख्यामा उपलब्ध हुँदै आएको रोजगारीको अवरण समाप्त हुनेछ ।

राजा मोहनले नेपालको इतिहासका विषय स्मरण गराउँदै पृथ्वीनारायण शाहले दुई ढुङ्गाबीचको तरुल भनेको देखि जङ्गबहादुर राणाले सिपाही विद्रोहबाट बेलायतसँग कुटनीतिक चार्तुयता देखाएर सिमा विस्तार गरेको विषय पनि उल्लेख गरेका छन् । उनले नेपालको भुराजनीतिक यथार्थबारे समेत व्याख्या गरेका छन् । नेपाल र भारतबीच सिमा विवाद भई वार्ताको विषय उठिरहँदा राजामोहनको महत्वपूर्ण लेख आएको हो ।



प्रतिक्रिया दिनुहोस्