Logo

लकडाउन अवधिमा पठन–पाठन : सरकारको तयारी र विद्यार्थीको अवस्था



जेठ २०, काठमाण्डौ । विद्यालय खुल्ने अनिश्चित भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्रीलगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध गर्ने भएको छ । असार १ गते बाट खुला र दूर शिक्षाका माध्यमबाट पठनपाठन गराउने तयारी भएको हो । तर सरकारी विद्यालयहरुले नै मन्त्रालयले गरेको तयारी प्रभावकारी नहुने बताएका छन् ।

लक डाउनका कारण अब विद्यालय, कलेज र विश्वविद्यालहरु कति समय बन्द हुने हन अनिश्चित छ । तर सरकारले बैकल्पिक तरिकाले पठन पाठन अघि बढाउने तयारी भने गरेको छ । सरकारले असार १ गतेबाट अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्रीलगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध गर्न लागेको हो । वैकल्पिक विधिहरुबाट विद्यार्थीको सिकाइलाई सहजीकरण गर्न निर्देशिका स्वीकृत गरेको छ ।

तर सरकारले गरेको तयारीबाट सरकारी विद्यालयहरु नै चिन्तित छन् । सूचना र प्रविधिको पहुचबाट टाढा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारले अघि सारेको वैकल्पिक विधिबाट पठन पाठनमा सहभागि गराउने नसकिने कतिपयको टिप्पणी छ । सरकारी विद्यालयका प्रधानध्यापकहरुले सबै विद्यार्थीको पहुँचमा हुने गरी विकल्पको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन स्कुलका प्रधानध्यापक हेरम्बराज कँडेलले सरकारले गरेको तयारीले सबै विद्यार्थी समेटिनेमा आशंका व्यक्त गरेका छन् ।

राज्यले देशैभर बिजुली, इन्टरनेटको सुविधा दिन सक्छ कि सक्दैन ? अहिले कति नागरिकको यसमा पहुँच पुगेको छ ? २४ सै घण्टा बिजुली र इन्टरनेटको व्यवस्था हुन्छ त भन्ने खालका प्रश्न उब्जिएको संस्थागत विद्यालय अभिभावक संघ नेपालका वरिष्ठ उपाध्यक्ष सुवास भण्डारी बताउँछन् ।

केही निजी विद्यालयहरुले भने अनलाई कक्षा सुरु गरिसकेका छन् । तर अनलाईन कक्षामा सबै विद्यार्थीहरु सहभागी हुन सकेका छैनन् । असार एक गतेदेखि सरकारले गर्न खोजेको व्यवस्थाबारे निजी विद्यालयहरु छलफलमा जुटेको ट्रिटन इन्टरनेशनल स्कुलकी शिक्षिका सीता निरौलाले बताइन् ।

लामो समयदेखि स्थगित पठन पाठन कसरी सुरु गर्ने भन्ने अन्योलका बेला सरकारले गरेको प्रयासलाई सकारात्मक रुपमा लिन त सकिन्छ, तर सबै विद्यार्थी सहभागि कसरी गराउने भन्ने विषयमा गम्भीर भएर योजना बनाएको भने देखिदैन ।



प्रतिक्रिया दिनुहोस्