Logo

सरसापट गरेर भए पनि कर तिर्न सरकारको निर्देशन : व्यवसायीहरुमा छटपटाहट



काठमाडौं, २१ जेठ । सरकारले लक डाउनकैबीचमा पनि कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित भएका छन् । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै लक डाउनकै बीचमा व्यवसायीलाई कर बुझाउन ताकेता गरेपछि उनीहरु आक्रोशित भएका हुन् । कोरोनाविरुद्धको लडाईका लागि भन्दै सरकारले जारी लकडाउन जेठ मसान्तसम्म लम्ब्याएको छ । तर राजस्व विभागले जेठ २५ गतेभित्र सम्पूर्ण कर विवरण तथा कर बुझाउन ताकता गर्दै अन्यथा जरिबाना लाग्ने सूचना निकालेपछि व्यवसायीहरुमा छटपटाहट पैदा भएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले अहिले कर तिर्न सक्ने अवस्थामा व्यापारीहरु नरहेको बताए । उनले  लकडाउनका बेला सरकारले कर माग्ने, घरधनीले भाडा माग्ने, बैंकहरुले ब्याज र किस्ता माग्ने गरेपछि व्यवसायीहरुमा संकट पैदा भएको बताए  । सरकारले व्यवसायीका पिर मर्का बुझ्नुपर्ने उनले  माग गरे ।

अध्यक्ष कटुवालले सरकारले करका लागि ताकेता गरिरहे व्यवसायीहरुले सटरका तालाचाभी नै सरकारलाई बुझाउने चेतावनी दिए । अहिले व्यापार व्यवसाय सबै ठप्प रहेका बेला व्यापारीलाई निचोरेर केही नझर्ने उनको जिकिर छ । सरकारले कर तिरेन भन्दै थुन्न खोजे पनि व्यवसायीहरु त्यसका लागि विवश हुने परिस्थिति रहेको अध्यक्ष कटुवालले बताए।

तर यता सरकारले भने व्यवसायीहरुले कर तिर्नुको विकल्प नरहेको बताएको छ । अहिले लकडाउन अगावैको कर तिर्न व्यवसायीहरुलाई ताकेता गरेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाका प्रेस सल्लाहकार यमन पौडेलले खानाका लागि पैसा छैन भनेर कोही भोकै नबस्ने उदाहरण दिँदै सरसापट गरेर भए पनि व्यापारीले कर तिर्नपर्ने स्पष्ट पारे। उनले  लकडाउन अगावैको कर राज्यलाई बुझाउनु भनेको कुरा बिर्सन नहुने बताए ।

व्यवसायीहरुले लकडाउनका बेला बैंकसम्म पुग्न समेत नसकिने भन्दै अहिले करका लागि ताकेता गर्ने सरकारको निर्णयको विरोध गरिरहेका छन् । तर अर्थमन्त्रीका प्रेस सल्लाहकार पौडेलले कर तिर्न जाने व्यक्तिलाई पासको व्यवस्था सरकारले मिलाइसकेको बताए । यसका साथै डिजिटल भुक्तानी प्रणाली समेत रहेकोले अनावश्यक बहाना बनाउन नहुने उनले  बताए ।

झण्डै ढाई महिनादेखि जारी लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेका बेला राज्यले कर तिर्न ताकेता गरेपछि निजी क्षेत्रबाट त्यसको विरोध भइरहेको छ । यसका साथै राजधानी काठमाडौँसहित कतिपय स्थानमा व्यापार व्यवसाय सुचारु गर्न माग राख्दै व्यापारीहरु प्रदर्शनमा समेत उत्रेका छन् । लकडाउनको इमानदारीताका साथ पालना गरेका व्यापारीहरु करका लागि सरकारले, किस्ता र व्याजका लागि बैंकले र भाडाका लागि घरधनीले सताउन थाले पछि अब भने लकडाउन खुकुलो पार्नुपर्ने आवाज उठाउन थालेका छन् । आफूहरुको धैर्यताको बाँध फुट्न थालेको व्यवसायीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्