Logo

सेनामा जर्नेलहरुको जिम्मेवारी हेरफेर



सैनिक मुख्यालयमा अब अवकास र पदोन्नति धमाधम शुरु हुन लागेको छ ।प्रधानसेनापति पूर्णचन्द्र थापापछिको दोस्रो वरियतामा रहेका तीन तारे जर्नेल शरद् गिरी बिदामा बस्दैछन् । कारण हो,अवकास मिति नजिकिनु । र,उनले सम्हाल्दै आएको जिम्मेवारीमा एक जनाको बढुवासङ्गै आनन्द अधिकारीले छाडेको नीति,योजनामा सेनापतिको सैनिक सहायकबाट दुई तारेमा उक्लिएर जर्नेल प्रेम शाही जाने भएका छन् !

सैनिक सचिवको जिम्मेवारीमा भने वीरगन्जबाट अनुपजंग थापा भित्रिँदैछन् ।मातृगण महावीर रेञ्जरबाट उत्पादन भएका अनुपजंग काठमाडौं, नक्सालका रैथाने बाबुसाहेब भनेर चिनिन्छन् । अधिकांश सशस्त्र द्वन्द्वकालीन घटनामा रेञ्जर गणको तेस्रो,दोस्रो हैसियत हुँदै लामो समय गणपति नै सम्हाल्ने उनले ठूला–ठूला भिडन्त व्यहोरेका छन् । बहुचर्चित कृष्णभीर र मुग्लिङ (दाह्रेचोक) भिडन्तमा सबभन्दा पहिला पुगेर उनले सैन्य बृत्तमा त्यसैबेला स्याबासी पाएका थिए ।

यी तीन भाइको अदली–बदलीपछि नेपाली सेनामा जर्नेलहरुको एउटा ठूलो डफ्फा सेवानिबृत्त हुँदैछ । त्यसमध्ये जासुसीतर्फका जर्नेल झंकर कडायत साउनमा,रघु भण्डारी,शशिबहादुर सिंहहरु कात्तिक,मंसिरतिर अवकास पाएर घर जाने तरखरमा छन् । यो डफ्फाले अवकास लिएपछि हुने बढुवाले आगामी सैन्य नेतृत्वको नयाँ चित्र बन्ने छ ।

यता, सेनाका ब्रिगेडियर जनरलहरुको दुःख फरक छ । अहिले १०–१२ जना ब्रिगेडियरहरु कोही सैनिक सहचारीका रुपमा विभिन्न मिशनमा खटिएका छन् त कोही नेशनल डिफेन्स कोर्ष (एनडिसी) का क्रममा देशबाहिर छन् । काठमाडौंमा भएका सिमित ब्रिगेडियरले दुई–तीनवटाका दरले काम भ्याउनुपर्ने स्थिति विद्यमान छ ।-जनआस्थाबाट-File Photo



प्रतिक्रिया दिनुहोस्