Logo

लकडाउन धमाधम उल्लंघन, दबाबमा सरकार



काठमाडौं, २१ जेठ । अन्ततः कोरोना भाइरस रोकथामका लागि लगाइएकोे लकडाउन असफल सावित हुँदै गएको छ । लकडाउनका बाबजुद संक्रमित संख्या ह्वात्तै बढेपछि असफल सावित हुनथालेको हो ।

भारतसँगको सिमा नाकामा कडाई गर्ने नाममा रोकिएकाहरुमै कोरोना भाइरस सल्किएको तथ्य बाहिर आएको छ । सिमाबाट प्रवेश गरेकाहरु स्वस्थ अवस्थामै क्वारेन्टाइनमा राखिंदा कोरोना भाइरसको संक्रमण फेला परे । बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका अधिकांश कोरोना संक्रमित भेटिए । रौतहट, कपिलवस्तु, झापा, पर्सालगायतका क्षेत्रमा पनि क्वारेन्टाइनमा रहेकाहरु संक्रमित भेटिएपछि अवस्था भयावह बन्दै गयो ।

संक्रमित बढेपछि अस्पतालहरु भरिन थालेका छन् । स्वास्थ्यकर्मी नै संक्रमित भेटिएका छन् । काठमाडौं मेडिकल कलेजमा चारजना स्वास्थ्यकर्मी संक्रमित भेटिएका छन् । त्यहाँ सेवा बन्द गरिएको छ । देशका विभिन्न अस्पतालमा धमाधम स्वास्थ्यकर्मी जोखिममा पर्न थालेका छन् ।

लकडाउनका बाबजुद संक्रमण फैलिनु र सर्वसाधारण आर्थिक संकटमा पर्न थाल्नुले जटिल स्थिति आउन थालेको छ । यही बेलामा आन्तरिक राजश्व विभागले २५ जेठभित्र कर तिर्न सुचना निकालेको छ । यसले व्यवसायी थप तनाबमा परेका छन् ।

किराना पसल खोल्न दिने अन्य पसल खोल्न नदिने सरकारको नीतिले व्यवसायीहरु समस्यामा परेका हुन् । कपडा, सुनचाँदी, फर्निचर, निर्माण सामाग्रीलगायतका सामान विक्रीवितरण गर्ने व्यवसायी मारमा परेका छन् । होटल र रेष्टुरेन्ट व्यवसायी पनि मारमा परेका छन् । निर्माण क्षेत्र लगभग ठप्प नै छन् । यसले दैनिक श्रम गरेर गुजारा चलाएकाहरु संकटमा परेका छन् ।

अवस्था थेग्नै नसक्ने भएपछि व्यवसायीले लकडाउन उल्लंघन गर्न थालेका छन् । राजधानीका कतिपय स्थानहरुमा पसल खोलिएको छ । प्रहरीले बन्द गराउन खोजेपनि विरोध हुनथालेको छ ।

स्थिति जटिल भएपछि प्रधामन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी परिवर्तनबारे विज्ञहरुसँग परामर्श थालेका छन् । उनले लकडाउन खुकुलो बनाएर जाने तयारी गरेपनि कुन कुन क्षेत्र खोल्न दिने या नदिनेबारे परामर्श थालेका हुन् ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्