Logo

थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित



२१ जेठ : रसियाका अधिकारीहरुले एउटा थर्मल प्लान्टबाट २० हजार टन डिजेल चुहिएर साइबेरियाली नदीमा मिसिएको भन्दै आपतकालीन स्थितिको घोषणा गरेका छन् । वातावरणविदहरुले यस संकटको तत्काल समाधानका लागि पहल गर्न रसियाली अधिकारीहरुसमक्ष आग्रह गरेका छन् ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मंगलबार नदीमा सतहमा रहेको डिजेल रोक्न अस्थायी बाँध बनाइएको भन्दै त्यसको प्रशंसा गरेको छ । यस नदीमा मिसिएको डिजेल तत्काल सफा नगरिए उक्त डिजेल उत्तरी ध्रुव नजिकको नोरिल्स्क शहरसँगैको तालमा मिसिने छ ।

डब्लुडब्लुएफले सार्वजनिक गरेको भूउपग्रहीय तस्वीरमा अम्बारनाया नदीको सतहको ठूलो क्षेत्रमा कालो धब्बा देखिएको छ । स्थानीय वासिन्दाहरुले सामाजिक सञ्जालमा प्रदूषित पानीका तस्वीरहरु पोस्ट गरेका छन् ।

नोरिल्स्कभन्दा पश्चिमतर्फ रहेको थर्मल विद्युत गृहबाट गत साता चुहिएको डिजेल अम्बारनाया नदीमा खसेको थियो ।

रसियाली खानी उत्खनन कम्पनी नोरिल्स्क निकेलको स्वामित्वमा रहेको यस प्लान्टबाट डिजेल चुहिएको जनाएको छ । कम्पनीले प्लान्टको संरचना पुरानो भएको र प्लान्टको संरचना निर्माणमा प्रयोग गरिएका काठ मक्किएर प्लान्टको डिजेल ट्याँकमा क्षति पुगेको जनाएको छ ।

नोरिल्स्क निकेल कम्पनीका प्लान्टबाट विगतमा पनि इन्धन चुहिने समस्या देखिएका थिए । सन् २०१६ मा पनि एउटा स्थानीय प्लान्टबाट नदीमा प्रदूषित वस्तुहरु पुगेका थिए । यस दुर्घटनामा सरकारले कम्पनीमाथि केबल एक हजार डलर जरिवाना गरेको थियो । एएफपी



प्रतिक्रिया दिनुहोस्