Logo

भारत-चीनबीच वार्ता तय हुँदा नेपालमा नक्शा पारितको मिति किन टुंगो लागेन



काठमाडौं, २१ जेठ । सदनमा नयाँ नक्शासहितको प्रतिक चिन्हका लागि संविधान संशोधन विधयेक दर्ता भएको छ । आवश्यक दुई तिहाई सहजै पुग्ने माहोल तयार भइसकेको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेसलगायत साना दलले मतदान गर्ने भइसकेका छन् । मतदान नगर्ने हुन् कि भन्ने आशंका राष्ट्रिय जनता पार्टीका सांसदमा मात्र हो ।

नक्शामा राष्ट्रिय सहमति जुटि सकेको अवस्था छ । तर, संसदमा कहिले मतदान हुने हो निश्चित भएको छैन । जनतालाई जानकारी गराउन विधयेकबारे दर्ता भएकै दिन राजपत्रमा उल्लेख गरी विधि पुरा भइसकेको छ । अब सभामुखले मतदानको मिति तोक्ने र टुंगोमा पुग्न बाँकी छ ।

नक्शा बनिसकेको र मतदानमा ढिलाई हुँदा आशंकाहरु नभएका होइनन् । लिपुलेकमा भारतले लिंकरोड बनाएपछि नेपालले आपत्ती जनाएदेखि नै भारतले यसलाई चीनको उक्साहट भनिसकेको छ । भारतीय सेनापति एम एम नरवाणेले नाम नलिई कसैको उक्साहट भन्दा चीनतर्फ संकेत गरेका हुन् । भारतले चीनको उक्साहट भन्नु र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दा उत्तरतर्फ १८ वटा चेकपोष्ट राख्ने ? भन्नुलाई संयोग मात्र भनिएको छैन ।

चीनको उक्साहट भनिरहँदा भारतको उत्तरतर्फ चीनसँग सिमा विवाद चर्केको छ । सैन्य भिडन्तकै खतरा बढेको छ । तर, समस्या समाधान गर्न वार्ता रोजिएको छ । सैन्य तहमा अनौपचारिक कुराकानी चलेको र २४ जेठमा लेफ्टिनेन्ट जनरल तहमा वार्ता हुने तय भइसकेको छ । यसको खुलासा भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरिसकेका छन् ।

भारत र चीनको सिमा विवादमा नेपालको विषय नआएपनि चिनियाँ सञ्चारमाध्यमले नेपालसँग भारतको सिमा विवाद रहेको उल्लेख गरेका छन् । चिनियाँ विदेश मामलाको धारणा आउने गरेको ग्लोबल टाइम्सले सिमा विवादको समाधानको उपायबारे लेख्दा नेपालसँग भारतको सिमा विवाद पनि उल्लेख गरेको छ । यसलाई अर्थपूर्ण मानिन्छ ।

भारत र चीनबीच सिमा विवादबारे वार्तामा विभिन्न विषय उठ्दा नेपालको विषय पनि उठ्न सक्छ । यो विषयलाई चीनले आफनो बार्गेनिङ पावर बढाउने गरी उठाउन सक्छ । ठुला देशको त्यस्ता विषय रणनीतिमा पर्न सक्छन् । विगतमा तिब्बत मामलामा भारत पछि हट्ने र सिक्किम मामलामा चीन चुप लाग्ने गरी कुरा मिलाएकै हुन् । त्रिदेशीय सिमाक्षेत्रबारे विगतमा भारत र चीनले नेपाललाई बेवास्ता गरेर सम्झौता गरेकै हुन् । यसपटक पनि सिमाको विषयमा भारत र चीन आफै कुरा मिलाएर नेपालको विषयलाई बेवास्ता गरिदिए आश्चर्य नमाने हुन्छ । यस्ता विषय बार्गेनिङका लागि उठाउने र आफ्नो लाभमा लेनदेन गर्ने ठुला देशको प्रचलन नै हुनेगर्छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्