Logo

सुदुरपश्चिमको अवस्था भयावह- भरत खड्का, नेता, नेपाली कांग्रेस



काठमाडौं, २१ जेठ । नेपाली काँग्रेसका नेता भरत खड्का सुदुरपश्चिम प्रदेशमा क्वारेन्टाइनको अवस्था भयावह रहेको बताउँछन् । संकट निकै बढेकाले त्रास पैदा भएको उनको भनाई छ । खड्कासँग यीन विषयमा ऋषि धमलाले गरेको कुराकानीः

सुदूरपश्चिममा क्वारेन्टाइनको अवस्था के छ ?
सुदुरपश्चिममा रहेका क्वारेन्टाइनको अवस्था एकदमै भयावह छ । जनजीवन पनि अत्यन्तै दयनीय बनेको छ ।
कसरी भयावह छ, राम्रो काम भइरहेको छ भनेर त्यहाँका मन्त्रीहरुले भनिरहनुभएको छ त ?
सुदुरपश्चिम भारतसँग नाका जोडिएको ठाउँ हो । पहिलादेखि नै यो उच्च जोखिममा छ भनेर सबैले भन्दै आएको र वास्तविकता पनि त्यही हो । अहिले दैनिक १० हजारका दरले विभिन्न नाकाबाट भारतमा विभिन्न पेशा गरेर बसेका मान्छेहरु आइराखेका छन् । ती व्यक्तिहरुलाई गाउँ–गाउँमा लगेर नाममा मात्रका क्वारेन्टाइनको स्कुलहरुमा राखिएको छ । त्यहाँ कुनै मापदण्ड छैन । अहिले त त्यस्ता विद्यालयहरु पनि भरिभराउ भैसके । अहिले सुदुरपश्चिममा मात्रै क्वारेन्टाइनमा बस्ने ५० हजारभन्दा बढी नाघिसकेका छन् । कतिपय नागरिकहरु उहाँबाट सुरक्षित भएपनि नाकामा को संक्रमित को सुरक्षित सबैलाई एउटा गाडीमा खचाखच हालेर पठाउने काम भएको छ । त्यसकारणले पनि संक्रमितहरु बढ्ने खतरा छ । त्यो स्थानीय तहका साथीहरु र केही समाजसेवीहरुले गरेका छन् । अब तिनलाई क्वारेन्टाइनमा कति समयसम्म राख्ने हो त ? त्यसरी क्वारेन्टाइनमा राखिएकाहरुलाई न परीक्षणको व्यवस्था छ, न बस्ने राम्रो व्यवस्था छ, न सौचालय छ । न ओड्ने ओछ्याउने छ, न खानाको व्यवस्था छ । धेरैजसोले त घरबाट खाना ल्याएर खाइरहेको अवस्था छ । त्यसकारण यति क्रिटिकल अवस्थामा सुदूरपश्चि गइसक्यो कि अहिले त हामी यो ठाउँका नागरिक हौं कि होइनौं । हाम्रो देशमा सरकार छ कि छैन ? भन्ने अवस्था आइसकेको छ ।
हाम्रो देशमा संघीय, प्रदेश र स्थानीय सरकारहरु छन् तिनीहरुले काम गरेका छैनन् ?
कुनै पनि सिस्टम साध्य होइन साधन हो । यहाँ संघीयता खराब भएको होइन । यसलाई साध्यको रुपमा हेर्ने होइन, साधनको रुपमा हेर्नुपर्छ । त्यो साधनलाई कसरी व्यवस्थापन गर्ने भन्ने सक्षम नेतृत्व चाहिन्छ । म पनि प्रदेशको एउटा सांसद हुँ । मैंले लगातार रुपमा मुलुक लकडाउन भइसकेपछि प्रदेश सरकारहरुलाई आग्रह गरेको छु । सुदुरपश्चिम जोखिममा छ । त्यसैले कैलाली, कञ्जनपुरमा कम्तिमा २५, ३० हजार क्षमताको क्वारेन्टाइनको व्यवस्था गरौं । र, भारतबाट जति हाम्रो मान्छेहरु आउँछन् तिनलाई व्यवस्थित र सुरक्षित ढंगले क्वारेन्टाइनमा राखौं । परीक्षण गरेर संक्रमित नभएका मान्छेहरुलाई गाउँगाउँमा पठाऔं यसले हामीलाई व्यवस्थापन गर्न सहज हुन्छ । भनेर मैले बारम्बार भनेको हुँ । अब त यति अव्यवस्थिति भइसक्यो कि कन्ट्रोलै गर्न सकिँदैन । दैनिक १० औं हजारको संख्यामा आइरहेका छन् । कतिपय साधन नपाएर १० औं दिन हिँडेर आएका छन् । कतिपय बाटोमा खान नपाएर विरामी परेका छन् । दीर्घरोगीहरु औषधि नपाएर ज्यान गुमाउन वाध्य छन् । केन्द्र सरकारले पनि बारम्बार भनिरहेका छौं । सुदूरपश्चिम उच्च जोखिममा छ । यसको लागि परीक्षणको किट पठाइदेऊ भन्दा सरकारले सुनेन ।
त्यहाँ उपचार नपाएर मृत्युसम्म भएको छ, सरकारले काम गर्न सकेको छैन तपाईंहरु पनि मुकदर्शक भएर बस्नुभयो नि ?
यतिबेला जसले पनि कांग्रेस मुकदर्शक भयो भन्छन् । हामी मुकदर्शक भएका छैनौं । हामीले त सरकारलाई यसोगर्दा राम्रो हुन्छ भनेर सुझाव दिने हो । त्यसलाई मानेर निर्णय गर्ने त सरकारले हो नि । त्यसैले व्यवस्थित गर्नुपर्छ भनेर हामीहरु धेरै सिरियस ढंगले लागेका छौं । कांग्रेसलगायत सबै पार्टी र जनताले सरकारले लिएको नीतिलाई अक्षरसः पालना गरेका छौं । सरकारले लकडाउन गर्ने भन्यो त्यसमा हाम्रो पुरै सहयोग छ । मुलुकमा लकडाउन गरेको आज ७३ दिन भइसक्यो । सरकारले लकडाउन गर्ने निर्णय गरेर मात्रै हुँदैन । यसलाई सफल बनाउनका लागि त्योसँग केही कुराहरु जोडिएको हुन्छ । अहिले यो कोरोनाको नाममा दीर्घजीवी विरामीहरुले औषधि उपचार पाएका छैनन् । यो लकडाउनको समयमा ९ सय ६३ जनाले त आत्माहत्या गरिसकेका छन् । आज लकडाउनको कारणले ९ सय ६३ जनाले त आत्माहत्या गरेका छन् । लकडाउनको कारणले त्यो कुरा पुरै ओझेलमा परेको छ । त्यसैले हाम्रो सरकार जनताप्रति उत्तरदायी र सेन्सेटिभ छैन ।
त्यसोभए तपाईंको भनाई लकडाउनलाई सुदुरपश्चिममा पनि लकडाउन खुकुलो पार्नुपर्छ भन्ने हो ?
लकडाउन कागजमा निर्णय गरेर गर्ने होइन । लकडाउन गर्दा जनताका आधारभूत आवश्यकतालाई ख्याल गर्नुपर्छ । दैनिक जीवनसँग जोडिएका कुरालाई सम्बोधन हुने गर्नुपर्छ । खाली कागजमा घोषणा गरेर मात्रै लकडाउन सफल भयो भन्न मिल्दैन ।
सुदुरपश्चिमका उद्योग, व्यवसायीहरुले त लकडाउन थेग्न सकिँदैन भने नि ?
सञ्चालन गर्नुप¥यो नि । मान्छेले यस्तो बन्दाबन्दी कति दिन थेग्न सक्छन् । सरकारले लकडाउनका बेलामा निर्वाह गर्नुपर्ने निम्नतम मापदण्डसम्म पालना गर्न सकेन । त्यसै लकडाउन भन्देको छ । कतिपय विरामीलाई एकठाउँबाट अर्को ठाउँमा उपचार गर्न लान सक्ने अवस्था छैन । एउटा जिल्लाबाट अर्को जिल्लामा विरामीलाई ल्याउने, लाने अवस्था छैन । कतिपय दीर्घरोगी विरामीहरुलाई नियमित भारतबाट औषधि ल्याउनुपर्ने थियो । आज त्यो ल्याउन पाएका छैनन् । यस्ता कुरालाई त राज्यले हेर्नुपर्ने होइन ? लकडाउन मात्रै घोषणा गरेर त हुँदोरहेन छ नि । विश्वमा धेरैले लकडाउन गरेर हेरे । त्यसकारण लकडाउन संक्रमण नियन्त्रणको एउटा पाटो हो । अब हामीले पनि विश्वको मापदण्डलाई हेरेर कुन तरिकाबाट जनजीवनलाई सहज बनाउन सकिन्छ भन्नेतिर लाग्नुपर्छ । अर्थतन्त्रलाई चलायमान गर्नुपर्छ । सधैं लकडाउन भनेर बसियो भने भोलिको अवस्था के हुन्छ ? त्यसलाई यसलाई नयाँ ढंगबाट सोचेर अगाडि बढ्नुको विकल्प छैन । अब यो अव्यवस्थित ढंगले स्कुलमा कति दिन राख्ने ? न चेकजाँच छ, न उपचार छ, न खाना बस्नको व्यवस्था छ । दिनदिनै आइरहेका छन् । पहिलादेखिका पनि त्यही छन् । भरखरै आएका पनि त्यही छन् । नाकाबाट हुलकाहुल मान्छेहरु आएका छन् । जहाँबाट आएका र जुन प्रकृतिका मान्छेलाई पनि एउटै साधनमा हालेर खचाखच रुपमा पठाउने गरिएको छ । त्यसैले सुदुरपश्चिमका प्रदेश र स्थानीय सरकारले गम्भीर रुपमा नलिएर यस्तै छोड्ने हो भने चाइनाको बहानको अवस्था यहींबाट सुरु हुन्छ । र, मुलुकमा संक्रमण भयाबह भएर फैलिन्छ । यसलाई रोक्नको लागि संघीय सरकारले आवश्यक किट उपलब्ध गराएर छिटोभन्दाछिटो परीक्षणको दायरा बढाउनुपर्छ । साथै यो ७३ दिनसम्मको लकडाउनको अनुभव र भोगाइले जनतालाई कसरी सहजीकरण गर्न सकिन्छ भन्नेतिर लाग्नुपर्छ । र देशको अर्थतन्त्रसँग नागरिकको जनजीवनलाई सहज बनाउने र अर्थतन्त्रलाई चलायमान बनाउनेतिर लाग्नुपर्छ । त्यसको लागि सरकार, राजनीतिक पार्टी र रोकारवाला गम्भीर भएर लाग्नुपर्छ । यिनै कुरालाई मध्यनजर गरेर लकडाउनको नयाँ मोडालिटीमा जानुपर्छ भन्ने मेरो सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्