Logo

माधव नेपाल समुहले सरकार ढाल्न खोजेपछि ओलीले नक्शालाई तुरुपका रुपमा फाल्नुभयो- डा. अमरेशकुमार सिंह



काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार प्रष्ट बोल्छन् । शान्ति प्रक्रियाका बखत निकै चर्चामा आएका उनले प्रधानमन्त्री केपी शर्मा ओली देशको भुमि फिर्ता ल्याउने नियतका साथ नलागेको आरोप लगाएका छन् । जनता उचाल्ने तर ठाउँमा कुरा नगर्ने गरेर झुक्याएको भन्दै भारतसँग प्रधानमन्त्री ओलीले वार्ता गर्न नचाहेकको टिप्पणी गरे । सांसद समेत रहेका नेता अमरेश सिंहसँग रेडियो एनआरएनको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीः

तपाईंहरुले फेरि गैरसरकारी विधेयक किन, कसको दबाबमा ल्याउनुभयो ?
हामी कसैको कर, दबाबमा लाग्दैनौं । नेपाली जनताको चाहना अनुसार लाग्छौं । नेपाली जनताकोबीचमा समानता, सहअस्तित्व, सहकार्य र राष्ट्रियता बलियो बनाउनको लागि आएको हो ।
यो विधेयक ल्याउनुपर्ने आवश्यकता थियो र कांग्रेसले सरकारले ल्याएको विधेयकलाई समर्थन गरेको थियो नि ?
हाम्रा आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्वमा अस्ति जुन बैठक भएको थियो केन्द्रीय कार्यसमितिको । नयाँ संशोधन विधेयक ल्याउने भन्ने निर्णय भएको थियो । त्यो केन्द्रीय कमिटिको निर्णय अनुसार ल्याइएको हो ।
सरकारले ल्याएको संविधान संशोधनको विधेयकलाई पारित गर्ने भनेपछि अर्को विधेयकको आवश्यकता थियो र ?
त्यो कांग्रेसको निर्णय अनुसार आएको हो । निर्णयको दफा नं. ४ मा के लेखेको छ ? जुन शेरबहादुर देउवाजीको पालामा संशोधन विधेयक दर्ता भएको थियो । त्यो संख्या नपुगेर विफल भएको थियो । त्यसलाई पुनः दर्ता गर्ने काम पार्टीको निर्णय हो । पार्टीको सांसद् भएपछि दर्ता गराउँछौं नि ।
देशभरका सांसदहरुले गर्नुपर्ने तपाईंहरु त आठ जनाले गर्नुभयो नि ?
दर्ता गराउन त एकजना काफी छ । त्यसमा सबै सांसद् किन चाहियो ?
यो विधेयक आएपछि अब संविधान संशोधन प्रस्ताव पारित नहुनेभएको हो, कांग्रेस कता हुन्छ ?
सीमाको सवालमा कांग्रेस क्लियर छ । त्यसमा हामी एक छौं । सीमाको विषयमा सरकारको विधेयकमा हामी भोट हाल्छौं । तर, हामी विश्वास छ कि हाम्रा सभापतिले सरकारका प्रधानमन्त्री जो नेकपाका अध्यक्ष पनि हुन् । त्यसको पनि भोट यो संशोधनमा आउनुपर्छ । यो त प्रधानमन्त्री र हाम्रा सभापति शेरबहादुर देउवाबीचको आपसरी सहमतिको कुरा हो । यो संशोधन प्रस्तावमा सरकार र सरकारका पार्टीका सांसद्हरुले पनि भोट हाल्छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधामन्त्री केपी शर्मा ओलीबीच यो संशोधन प्रस्तावमा सहमति भएको छ ?
उहाँले गर्नुहुन्छ होला नि । किन भने पार्टीले निर्णय गरिसकेपछि शीर्ष नेताहरुबीचमा त कुरा हुन्छ । यस विषयमा उहाँहरु बीचमा कुराकानी हुन्छ, सहमति हुन्छ । जसरी कांग्रेसले सरकारले ल्याएको विधेयकमा सर्वसम्मत ढंगले सहमति गरेको छ भने त्यसैगरी कांग्रेसले ल्याएको विधेयकमा पनि सरकार पक्षका सांसद्हरुले भोट हाल्नुहुन्छ भन्ने विश्वासका साथ यो विधेयक दर्ता गरिएको हो ।
होइन, कांग्रेस संशोधन प्रस्ताव ल्याएर राष्ट्रियताको सवालमा जनमत विभाजन गर्न खोज्यो भन्नेहरु पनि छन् नि ?
यसमा नेपाली कांग्रेस कहिल्यै पनि शब्दको राष्ट्रियतामा विश्वास गर्दैन । यो कम्युनिस्टको वामपन्थी राष्ट्रियताको नारा हो । हामी यथार्थमा राष्ट्रियताको विश्वास गर्दछौं । हाम्रो लागि वीपी कोइरालाले भने जस्तै भूगोलको साथसाथै जनताको राष्ट्रियतामा विश्वास गर्दछौं । जनता पनि राष्ट्रियताको प्रतिक हुन् । नेपाली जनता भनेको चाहे जनजाति हुन्, चाहे मधेशी, दलित, मुस्लिम, अल्पसंख्यक, उत्पीडित, खसआर्य, हिमाल, पहाड, तराईवासी जुनसुकै हुन् । उनीहरु सबैको बीचमा सहकार्य, एकता, सहभागिता सह–अस्तित्वबाट मात्रै राष्ट्रियता बलियो हुन्छ । सबैसँगको भाइचारा सम्बन्ध नै आजको आवश्यकता हो । सबैको सहभागिता, अपनत्व र सहमतिबाट नै राष्ट्रियता बलियो हुन्छ ।
अहिले आएर संविधान संशोधनका मुद्दाहरु ब्युझिन थाले तपाईंहरु यस्ता मुद्दाहरुको किन उठान गरिरहनुभएको छ ?
संविधान संशोधनको मुद्दा नक्साबाट अहिले आएको हो । यसको बारेमा तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले नै बोल्नुभएको थियो । ‘यो संविधानलाई संशोधन गर्दै सबैको अपनत्व बढाउँदै लाने हो’ भनेर । म तपार्ईलाई भन्न चाहन्छु, ‘अहिले अमेरिकामा एक जना अर्को समुदायको मान्छे मार्दा पुरै अमेरिकन अहिले सडकमा आएका छन् । तर, नेपालमा ५० जना मधेसी जनता मर्दा कसैको आँसु पनि खसेन ।
मधेसको लागि मधेसी जनताको लागि हामीले पनि बहस गरिरहेका छौं नि ?
बहस छलफल गर्नुभएको छ तर सडकमा त आउनुभएको छैन नि । देखिरहनुभएको छ नि अमेरिकामा एकजना मान्छे मर्दा पुरै मानिसहरु सडकमा आएका छन् । मानवअधिकारको कुरा उठाएका छन् । तर यहाँ त कमजोर वर्गको मान्छे म¥यो भने मानवअधिकार पनि हनन् हुँदैन । पहुँचवालाको मान्छे म¥यो भने मानवअधिकारदेखि सबै अधिकारकर्मीहरुबीच देसैभर हंगामा हुन्छ ।
तपाईंले त्यो विधेयक दर्ता गराइसकेपछि के प्रक्रिया हुन्छ त ?
हाम्रो संशोधन पास हुन्छ । त्यो पास गराउने जिम्मा सभापतिको हो ।
तपाईंहरुको संशोधन विधेयक पारित हुन्छ ?
त्यो पारित हुन्छ । म त विश्वस्त छु ।
पारित हुने आधार के संशोधन विधेयक पारित हुन त दुई तिहाई मत चाहिन्छ त्यो मत खोई ?
त्यो दुई तिहाई पुर्याउने काम हाम्रा सभापतिले गर्नुहुन्छ । हामी सभापतिलाई भन्छौं नि । सरकारको विधेयकलाई मत दिने भनेर निर्णय गरिसकेका छौं । त्यो हामी दिन्छौं । त्यसैगरी कांग्रेस पार्टीले ल्याएको संशोधन विधेयकलाई पनि सरकारका मान्छेले मत दिँदा हुन्छ नि ।
लिम्पियाधुरा समेटिएको नक्सा आउनु सबैको खुसीको कुरा तपाईंहरुले त त्यसलाई तुवाउन लाग्नुभयो नि ?
हामीले त्यो विधेयक ल्याउँदा कसरी नक्साको विधेयक तुहिन्छ ? जसरी नेकपाको सरकारले ल्याएको विधेयकलाई नेपाली कांग्रेसले समर्थन गरेर पक्षमा मतदान गर्ने निर्णय गर्यो । त्यसैगरी नेकपाका सांसदले पनि कांग्रेसले ल्याएको विधेयकलाई समर्थन गर्दा भइहाल्छ नि ।
त्यसोभए तपाईंहरुको सरकारसँग बार्गेनिङ भयो हो ?
सरकारसँग बार्गेनिङ होइन । काम हुँदा त दुवै तर्फी हुनुहुपर्यो नि । एकतर्फी मात्रै होइन नि ।
त्यसोभए समाजवादी पार्टी, कांग्रेस र राजपाले ल्याएको यो गैरसरकारी विधेयकमा सत्तारुढ दल आउनुपर्छ भन्ने तपाईंको भइना हो ?
राजपा र समाजवादी पार्टीको धारणा के छ मलाई थाहा छैन । त्यही पार्टीका सांसद्हरुलाई सोध्नुहोला । तर, हाम्रो पार्टीको तर्फबाट ल्याइएको विधेयकको पक्षमा सत्तापक्षले भोट हाल्नुपर्छ । हाल्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।
त्यसोभए प्रधानमन्त्री कोपी शर्मा ओली, प्रचण्डले नेकपाका सांसद्हरुलाई तपाईंहरुले ल्याएको विधेयकको पक्षमा भोट हाल्न ह्वीप जारी गर्नुहुन्छ ?
उहाँहरुले त्यो गर्नुहुन्छ भन्ने मलाई त विश्वास छ । त्यसको लागि हाम्रा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेर हाम्रो विधेयकको पक्षमा मतदान गर्न लगाउनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले पक्षमा मतदान गराउनुहुन्छ भन्ने तपाईंहरुको निष्कर्ष हो ?
हो, त्यसमा हामीलाई पूर्ण रुपमा विश्वास छ । फरक पर्दैन ।
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल–भारत समस्या समाधान वार्ताबाटै हुन्छ भन्नुभयो, तपाईंलाई लाग्छ वार्ताबाट समस्य समाधान हुन्छ ?
दुनियामा जहाँ पनि वार्ताबाटै समस्याको समाधान आएको छ । युद्धबाट कहिल्यै भएको छैन । लडेर, भिडेर, युद्ध गरेर कहिल्यै सम्बन्ध सुमधुर हुँदैन । त्यो कुटनीतिक वार्ताबाटै समाधान हुन्छ । अहिले नेपाल–भारतबीच जसरी सीमामा समस्या देखिएको छ । त्यो वार्ताबाटै समाधान हुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ । किन कि हामीले युद्ध गरेर सीमा समस्या समाधान हुँदैन । जुन बेलामा भारतीय पक्षबाट नक्सा जारी भयो । त्यो बेलादेखि अहिलेसम्म यो सरकारले कुनै कुटनीतिक पहल गरेको छैन । जसरी पहल गर्नुपर्ने थियो । दुई देशबीचमा पराष्ट्र सचिव स्तरीय, परराष्ट्र मन्त्री स्तरीय वार्ताको पहल गर्नुपर्ने हो । म यहाँबाट प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, नेपाली जनताको तर्फबाट पनि ‘प्रधानमन्त्रीले कतिचोटी यो कुरा उठाउनुभयो ? कतिचोटी छलफल भयो ?, कतिचोटी कुटनीतिक पहल गर्नुभयो ?’ त्यो नगरिकन उहाँले मात्रै भोटको राजनीति गर्न खोजिरहनुभएको छ । त्यो चाहीं यथार्थ राष्ट्रवाद हुने ?
त्यसोभए प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुराको बारेमा भारतसँग कुटनीतिक वार्ता गरेर समाधान गर्न सक्नुहुन्न ?
वार्ता गर्ने भए त हामी प्रधानमन्त्रीलाई साथ तयार छौं नि । तर, प्रधानमन्त्रीले चाहीं कुरा गर्न नसक्ने । ठाउँमा कुरा नगर्ने मात्र देशका जनतालाई झुक्याएर उचाल्ने ? र, अहिले जनताको जुन समस्या छ । देशमा महामारी, भोकमरी, गरिबी, यति धेरै हात्माहत्या भइराखेको छ । अर्को आफ्नै पार्टीभित्र दुई खेमा छ, जुन माधव नेपाल समूह जसले सरकार गिराउन लागेको थियो त्यसको तुरुपको रुपमा अगाडि ल्याउनुभएको छ ।
तर, नेपाल–भारतबीचको सीमा समस्या धेरै छन् नि आजभन्दा ५० औं वर्ष अगाडि देखिको ?
त्यो छैन मैले भनेकै छैन नि । त्यसमा कुरा मिलाउने काम त सरकारमा बसेका व्यक्तिहरुको हो नि । त्यो विषयमा त हामी सांसद्हरुको त काम छैन । हामीले सरकारलाई सुझाव मात्रै दिने हो । नेपाल सरकारले ६ महिनामा कतिचोटी कुराकानी ग¥यो ? त्यो त नेपाली जनतालाई बताउनुपर्यो नि ।
भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच वार्ता हुन्छ कि हुँदैन ?
त्यो वार्ता हुन्छ कि हुँदैन ? त्यसको लागि त तपाईं भारतका प्रवक्तसँग सोध्नुस् न ।
होइन तपाईंलाई पनि थाहा छ नि वार्ताको लागि सम्भावना, चुनौति र अप्ठ्याराहरु के के छन् ?
मलाई जहाँसम्म लाग्छ । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको लागि पहल गर्नुभएकै छैन । त्यसैले वार्ता त हाम्रै प्रधामन्त्रीले चाहनुभएको छैन नि ।
त्यसोभए प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्ता चाहनुभएको छैन ?
वार्ता गर्न चाहनुभएको छैन । चाहनुभएको भए त्यत्रो संसद्मा उनीहरुको देशको राष्ट्रिय चिन्ह, प्रतिकको बारेमा प्रधानमन्त्री जस्तो पदमा सबेको मान्छेले हल्का टिप्पणी गर्दैनन् नि ।
तर राजनाथ सिंहले त वार्ता गर्न भारत तयार छ भन्नुभयो नि ?
भारत तयार छ । नेपाललाई तयार गर्ने जिम्मा त प्रधानमन्त्रीको होला नि । तपाईंंले गएर बन्नुस् न भटिहाल्नुहुन्छ नि हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीजीले ।
तपाईंसँग पनि विगतमा राम्रो सम्बन्ध नि ?
व्यक्तिगत सम्बन्ध राम्रो छ । तर, व्यक्तिगत सम्बन्धले त राष्ट्र चल्दैन नि । प्रधानमन्त्रीले अहिले राजनीति गरिराख्नुभएको छ ।
त्यसोभए समस्या समाधानको उपाय के त ?
यो समस्याको समाधान कुटनीतिक वार्ता नै हो । तर, प्रधानमन्त्री आफै विभिन्न खाले कुरा गर्नुहुन्छ । उहाँ कहिले भन्नुहुन्छ कि त्यो जग्गा लिजमा दिन सकिन्छ । कहिले भन्नुहुन्छ कि होइन त्यो हाम्रो भूमि हो किन अहिले नक्सा छाप्न हतार छ ? यहाँ मुख्य कुरा प्रधानमन्त्रीको भनाइमै स्पष्टता छैन । उहाँका कुरा जहिले पनि बाझिएका छन् । त्यसकारण प्रधानमन्त्रीका कुरा के हो ? नेपाल सरकारको कुरा के हो त्यो बुझ्न जरुरी छ ।
तपाईंकै पार्टीका कतिपय नेताहरु केपी ओली त राष्ट्रवादी नेता हुन् उनले चालेको कदममा हाम्रो साथ छ भन्छन् नि ?
त्यो कुरा जस–जसले भन्नुहुन्छ उहाँहरुलाई नै सोध्नुहोस् । जुन–जुन नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रवादी नेता भन्नुभएको छ । मलाई त्यो विश्वास लाग्दैन ।
किन विश्वास लाग्दैन ?
जसरी भारतले नक्सा जारी गर्नेदेखि लिएर सडक उद्घाटन गर्दासम्म प्रधानमन्त्रीको वक्तव्य जारी आफ्नो दलमा, मन्त्रिपरिषद्मा, संसद्मा गरेर के भयो ? मलाई त्यसको बारेमा कुरा गर्नुहोस् न ।
के के भयो त भन्नुस् न ?
जस्तो हामीले पनि नक्सा छाप्ने कुरा उठ्यो अनि उहाँले भन्नुभयो ‘किन नक्सा छाप्नुप¥यो ?’ अनि उहाँहरुको पार्टीको सचिवालय बैठक बस्यो त्यहाँ फेरि के भन्नुभयो ? होइन त्यो जग्गा त लिजमा पनि दिन सकिन्छ नि ?’ त्यसकारण उहाँले यो विषयमा कुनै ठोस पहलकदमी गर्नुभएको छैन । टुंगोको कुरा पनि उठाउनुभएको छैन । हामी त भन्छौं नक्सा छाप्नेमा, भूमि फिर्ता गर्न साथ दिन्छौं ।
साथ मात्रै दिएर भएन नि जनतालाई परिणाम चाहियो नि ?
परिणाम ल्याउन सरकार पक्ष दत्तचित्त भएर लाग्नुप¥यो । अनि प्रतिपक्षले के गर्ने भन्ने कुरा आउँछ । उहाँको आफ्नै पार्टीमा समस्या छ । त्यो समस्या चिर्नलाई देश र जनतालाई झुक्याइरहनुभएको छ ।
त्यसोभए २३ गते संविधान संशोधन विधेयक संसद्बाट पारित हुन्छ ?
त्यो त पारित हुन्छ । त्यसको पक्षमा हामीहरु भोट हाल्छौं । किन भने हाम्रो पार्टीको निर्णय भइसकेको छ ।
अनि तपार्इंहरुको प्रस्ताव चाहीं हात्तीआयो, हात्तीआयो फुस्सा हो ?
हाम्रो प्रस्ताव पनि पारित हुन्छ । त्यो प्रस्ताव त हाम्रो सभापति र प्रधानमन्त्री केपी शर्मा ओलीले पारित गराउनुहुन्छ ।
अहिले यो प्रस्ताव ल्याउन उपयुक्त थिएन नि ?
यो प्रताव ल्याउने समय कस्तो हुन्छ ? घाम लागेको बेलामा ल्याउने हो कि ? पानी परेको बेलामा ल्याउने हो कि, राति उपयुक्त समय हो बिहान, बेलुका कुन उयुक्त समय हो ?
अहिले त सबै दल एकभएर जाने हो नि राष्ट्रिय सहमतिको लागि ?
समयको कुरा गर्नुहुन्छ भने अहिले ११ सय हाराहारी मान्छे त आत्माहत्या गरेका छन् । के कारणले त्यति ठूलो संख्यामा मान्छेहरुले आत्माहत्या गरे ? कतिपय संक्रमितको समयमा पीसीआर परीक्षण गर्न नसकेर बेहाल छ । यस्तो बेलामा सरकारले १५ दिन आफ्नै पार्टीको झगडाको व्यवस्थापन गर्नमै बितायो । सरकारमा बसेर जनताको मूल समस्याको समान नगरेर ठग्न मिल्छ ? अनि यस्तो समस्याको बेलामा विभिन्न भ्रष्टाचारका काम गर्ने ? बालुवाटारको जग्गादेखि यति समूहसँग मिलेर कमिसन खाने ? स्वास्थ्य सामाग्री खरिदमा कमिसन खाने । गुणस्तरहीन सामाग्री ल्याएर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने गर्नुहुन्छ ?
अब नेपालको राजनीति कता जान्छ ?
नेपालको राजनीतिको ड्राभिङ सिटमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । अब उहाँले कता लानुहुन्छ । यसलाई सेफल्याण्डि गराउनुहुन्छ कि दुर्घटना गराउनुहुन्छ ? किन भने उहाँलाई न लोकतन्त्रमा विश्वास छ, न संघीयतामा विश्वास छ, न यो संविधानमै विश्वास छ । यो तीनवटै कुरामा विश्वास उहाँलाई विश्वास छैन । न उहाँलाई समावेसीमा विश्वास, न जनताको समस्यामा विश्वास छ । उहाँ भाषण गर्नुहुन्छ र भन्नुहुन्छ, ‘नेपालमा कोही भोकै मर्दै, सबै खुसी र समृद्ध छ’ भनेर । त्यसकारण मलाई लाग्छ कि अहिलेको सरकारको कामकारबाहीले मुलुकमा राजनीतिक दुर्घटना निम्तिन्छ ।
राजनीतिक दूर्घटना भन्नले कस्तो दुर्घटना हुन्छ ?
यस्तो भनेर भन्न म ज्योतिषी त होइन नि । म राजनीति शास्त्रको विद्यार्थी हो । राजनीति शास्त्रको विद्यार्थीको नाताले जुन समस्याले जनता सडकमा आउन खोजिरहेको छ । त्यो चाहे कोरोनाको कुरा होस्, चाहे भोकमरीको होस् चाहे विदेशबाट फर्किने विषय होस् चाहे कोरोना नियन्त्रण र व्यवस्थापनका विषय होस् । यी यावत विषयलाई लिएर बेरोजगार बनेका युवाहरु सडकमा आउँछन् । त्यसबेला यो सरकारले जनताको चाहना, इच्छा र आवश्यकतालाई कसरी एड्रेस गर्छ त्यसमा भर पर्छ । सरकारको अहिलेको क्रियाकलापले जनता सडकमा आउँछन् ।
त्यसोभए राजनीतिक दुर्घटना हुन्छ ?
मलाई त्यस्तै लाग्छ । अहिलेको सरकारको जनतामा राम्रो छैन । केपी शर्मा ओलीको सरकारमा बस्नेहरुलाई जनताले राम्रोसँग हेर्न सकेका छैनन् । उनीहरुको कामकारबाहीले जनता वाक्क, दिक्क भइसकेका छन् । खान नपाएर प्रताडित छन् । रोगले भन्दा भोकले मर्ने अवस्था आइसकेको छ ।
राष्ट्रियता विषयमा लिएको अडानले त केपी शर्मा ओलीको व्यक्तित्व ह्वात्तै बढ्यो नि ?
उहाँले अडान लिनुभयो कि छोड्नुभयो त्यो त नेपाली जनताले बुझ्नुपर्ने कुरा हो । त्यो नेपाली जनताले ढिलो चाँडो बुझिहाल्छन् नि ।



प्रतिक्रिया दिनुहोस्