Logo

पर्याप्त कोरोना परिक्षण नहुँदा संक्रमण समुदायमा फैलिदै



जेठ २१, काठमाण्डौ । नेपालमा कोरोना भाईरस समुदाय स्तरमा पुगेको धेरै समय भइसक्यो । तर सरकारले परिक्षणको दायरा नबढाउदा संक्रमित भएकाहरुबाट थप संक्रमण फैलिने खतरा बढेको छ । अर्कोतिर भारतबाट ल्याइएका नेपालीहरुको न कोरोना परिक्षण गरिएको छ, न त व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखिएको छ । जसले गर्दा संक्रमणको जोखिम बढेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण अनुमान गरेभन्दा तीब्र गतिमा बढिरहेको छ । संक्रमण फैलिन नदिन सरकारले मुलुक लकडाउन गरेको दिनको संख्या जति थपिदै छ, त्यसैगरी संक्रमण हुने व्यक्तिको संख्याले पनि तीब्रता पाएको छ । सरकारले लकडाउन गरेर कोरोना भाइरस परिक्षणलाई तिब्रता दिदै क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित गर्नुपर्ने थियो ।

तर सरकारले त्यसो गर्न सकेन । पछिल्लो एक साताको परिक्षण संख्या हेर्ने हो भने थपिएका संक्रमितको तुलनामा परिक्षणको संख्या बढेको पाइदैन । जेठ १४ गते १ सय १४ जनामा कोरोना पुष्टि भएको थियो । त्यस दिन ३ हजार ५ सय ८० वटा पिसीआर परिक्षण भएको थियो । जेठ २० गते २ सय ८८ जनामा कोरोना पुष्टि भयो । र यस दिन ३ हजार ४ सय ४० वटा पिसिआर परिक्षण भएको थियो ।

यसबाट प्रष्ट हुन्छ कि संक्रमण पुष्टि हुने संख्या दोब्बर हुँदा पनि परिक्षण संख्या भने पुरानै गतिमा छ । कोरोना परिक्षणका लागि आवश्यक किट पर्याप्त नभएकाले परिक्षण संख्या बढ्न नसकेको भन्ने टिप्पणीलाई भने स्वास्थ तथा जनसंख्या मन्त्रालयले अस्वीकार गरेको छ ।

पछिल्ला दिनमा भारतमा रहेका नेपालीहरुलाई स्वदेश आउन दिइएको छ । जेठ् १ गते देखी जेठ १७ गते सम्म १७ दिनको अवधिमा भारतबाट विभिन्न नाका हुँदै १ लाख ४१ हजार बढी मानिसहरु नेपाल प्रवेश गरेका छन् । दैनिक करिब १० हजारका दर भित्रिएका सबै नेपाली कोरोनाको जोखिममा रहेको मानिएको छ । तर उनीहरु सबैको पिसिआर परिक्षण गरिएको छैन । भारतबाट आउनेको कोरोना परिक्षण हुन नसकेको कुरालाई भने मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले स्वीकार गरेका छन् ।

जतिसक्दो चाँडै परिक्षण गरेर संक्रमितलाई आइसोलेसनमा राख्न सके एक व्यक्तिले अरु व्यक्तिमा कोरोना सार्ने सम्भावना कम हुन्छ । तर सरकारले पर्याप्त आइसोलेसनसमेत व्यवस्था गर्न सकेको छैन । त्यसैले क्वारेन्टाइन, आइसोलेसन र पिसिआर विधिबाट कोरोना परिक्षणलाई प्रभावकारी बनाउन नसके नेपालमा महामारीको अवस्था नआउला भन्न सकिदैन ।

हालसम्म नेपालमा कोरोना भाइरस परीक्षणको संख्या २ लाख नाघेको छ । तिमध्ये करिब ७५ हजारको पिसीआर टेस्ट गरिएको छ । आरडिटी र पिसिआर गरी पछिल्लो २४ घण्टामा करिब ९ हजार परिक्षण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्