Logo

प्रधानमन्त्री र विज्ञबीचको छलफल सम्पन्न



काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा विज्ञहरुसँग गरेको छलफल सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल चार घण्टा लामो चलेको थियो ।

छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी थिए । प्रधानमन्त्री ओलीसँग २५ जना विषयविज्ञहरु छलफलमा भाग लिएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो टिव्टरमा लेखेका छन्,’आज मैले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरें ।अर्थशास्त्री, योजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगको यो बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो ।’

सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ । आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ । कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनमा उपचार र सचेतनाका लागि अपनाउनुपर्ने थप रणनीतिका विषयमा पनि विज्ञले सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्