Logo

कोरोना भाइरससँग जुध्न विज्ञहरुको छुट्टै समूह गठन गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता



काठमाडौं, २१ जेठ । सरकारले कोरोना भाइरससँग कसरी जुध्ने भन्नेबारे २५ जना विज्ञहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बसेको चार घण्टा लामो छलफलमा कोरोनासँग जुध्न विज्ञहरुको छुट्टै टोली गठन गर्ने सहमति भएको छ । पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि प्रधानमन्त्री ओलीले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे विज्ञहरुसँग छलफल गरेका हुन् । ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रणका साथै लकडाउनको अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा पनि विज्ञहरुसँग छलफल गरेका थिए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले दिएको जानकारीअनुसार कोरोनासँग जुध्न विज्ञहरुको छुट्टै समूह बनाउने सहमति भएको र उक्त समूहको नियमित बैठक बस्ने सहमति भएको छ । छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी थिए ।

प्रधानमन्त्री ओलीसँग २५ जना विषयविज्ञहरु छलफलमा भाग लिएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो टिव्टरमा लेखेका छन्,’आज मैले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरें ।अर्थशास्त्री, योजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगको यो बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्