Logo

अनलाइनबाटै कर तिर्न सकिने



काठमाडौँ, २२ जेठ । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रकम असार ७ गतेभित्र भुक्तानी गर्न सूचित गरिएको बताएका छन् । उनका अनुसार अग्रिम कर कट्टी रकम र चैत महिनामा भुक्तानी गर्नुपर्ने चालू वर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा भुक्तानी गर्नुपर्ने छ । लकडाउनको समयमा करदाताले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको काम नगरेको भए पनि विवरण भने बुझाउनुपर्ने छ ।

करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भुक्तानी गर्न भनिएको उनको भनाइ छ । लकडाउनले हिँडडुल गर्न अप्ठ्यारो परेमा आन्तरिक राजश्व विभागको वेबसाइट www.ird.gov.np मा गई आफूले भर्नुपर्ने विवरण भरेर आफ्नो फार्मको खाताबाट सोझै राजश्व कार्यालयको खातामा भुक्तानी गर्न सकिने छ । जसका लागि अप्ठ्यारो छ उनीहरुले सम्बन्धित बैंकबाट भुक्तानी गर्न सकिने उनले बताएका छन् । लकडाउनका समयमा अतिरिक्त कर तिर्न नभनेको भन्दै उनले भने, “करदाताले कार्यालयलाई तिर्न विभिन्न माध्यमबाट सङ्कलन गरेको कर तिर्नु भनेको हो ।” फागुनअघिका महिनाका विवरण र करका लागि भने म्याद थप नभएको उनले स्पष्ट पारेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्