Logo

‘भर्चुअल’ अध्यापन गराउन शिक्षकलाई तालिम



लम्की, २२ जेठ : सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत अध्यापन गराउन शिक्षकलाई ‘भर्चुअल’ तालिम दिन शुरु गरेको छ । सो विश्वविद्यालयले आजदेखि १० दिने तालिम दिइ अगामी असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने नीति लिएको जनाएको छ ।

तालिममा ६२ जना शिक्षक सहभागी छन् । पहिलो चरणमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको छ । “अहिलेको अवस्थामा अनलाइन प्रणालीबाट कक्षा सञ्चालनकोे विकल्प छैन”, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले भन्नुभयो, “कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्न सकिन्न । अनलाइन कक्षा सञ्चालनको प्रतिक्रिया कस्तो आउँछ त्यसपछि अन्य कक्षामा पनि लागू हुन्छ ।”

उहाँले अनलाइन कक्षा सञ्चालन गर्न क्याम्पसमा कम्प्युटर प्रयोगशाला तयार गरिएको बताउनुभयो । विश्वविद्यालयले विद्यार्थीका लागि आवश्यक पर्ने डाटाका लागि दूर सञ्चार र एनसेलसँग पनि कुराकानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

लामो समय क्याम्पस बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । यस्तो समयमा अनलाइन कक्षा दिन सकेमा पढाइप्रति रुचि जाग्ने स्नातकोत्तर अध्ययनरत विद्यार्थी रुपा धामीले बताउनुभयो । “इन्टरनेट पहुँच भएका विद्यार्थीले सामान्य भए पनि अध्ययन गर्ने माहोल बनेमा पहिले पढेका कुरा पुनरवलोकन गर्न सहयोग पुग्ला”, उहाँले भन्नुभयो, “कोरोना भन्दै अध्ययन ठप्प पार्ने होइन, विकल्पको खोजी गरी अध्ययनको माहोल बनाउन राम्रो हो ।”रासस



प्रतिक्रिया दिनुहोस्