Logo

बन्दाबन्दीको पीडा म्युजिक भिडियोमा



पोखरा, २२ जेठ : चर्चित साङ्गीतिक ब्याण्ड डिमर्चाले बन्दाबन्दी र यसले पारेको प्रभाव समेटिएको गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ ।

विश्व कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कोरोनाका कारण जारी बन्दाबन्दी र यसले समाजमा पारेको प्रभावलाई गीतमार्फत चित्रण गर्न खोजिएको ब्याण्डका गायक भाष्करध्वज श्रेष्ठले बताउनुभयो ।

गीतले श्रमिक वर्गको कथालाई उल्लेख गर्दै यी पीडादायी दिनको चाँडै अन्त्य हुने भन्दै निराश नबन्न आग्रह गरेको उहाँले बताउनुभयो । सञ्जय बरालको शब्द रहेको गीतमा सङ्गीत डिमर्चाकै छ । म्युजिक भिडियोको छायाङ्कन सञ्जय शाक्यले गर्नुभएको छ भने सम्पादन सविन गायकले गर्नुभएको छ । भिडियोको निर्देशन सञ्चारकर्मी सञ्जय मल्लले गर्नुभएको छ ।

भिडियोले बन्दाबन्दीका कारण सबैभन्दा पीडित बनेका मजदुर र विपन्न परिवारको कथालाई उन्ने प्रयास गरेको निर्देशक मल्लले बताउनुभयो । समाजको यथार्थता जस्ताको तस्तै प्रस्तुत गर्ने चरित्रलाई उभ्याएर वर्तमानको वास्तविक भोगाइको गीतले अनुभूति दिलाउने जनाइएको छ । पोखरा लेकसाइडको द ट्रेजरको प्रस्तुतिमा बनेको भिडियोमा सञ्चारकर्मी उत्तम पौडेल, आयुष श्रेष्ठ, शिवचन्द्र परियार, बालकलाकार निया श्रेष्ठ, स्वीकार मल्ल र आर्य भुजेलको अभिनय छ ।रासस



प्रतिक्रिया दिनुहोस्