Logo

मनिषा कोइराला राजनीतिमा आउलिन् ?



रिपोर्टर्स नेपाल, २२ जेठ । नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाकी नातिनी मनिषा कोइराला फिल्मी दुनियाँमा खुबै जमिन् । बलिउड नायिका बनेर कुनै बेला खुबै धुम मच्चाएकी उनी क्यान्सरको संक्रमणपछि निष्कृय भइन् । तर, रोगलाई जितेपछि पुनः मुम्बई फर्केर सक्रिय भइन् ।

मनिषाको सम्राट उपाध्यायसँगको विवाह लामो समय टिकेन । घरजम गर्ने उनको रहर रहरमै सिमित भयो । त्यसपछि केही समय विचलित भएकी उनी फेरि जागिन् । तर, मुम्बईको फिल्मी नगरीमा हराएजस्तै भइन् ।

पछिल्लो समय नेपाल र भारतबीच सिमा विवादमा मनिषाको भनाईले चर्चा पायो । उनले सिमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् । त्यसप्रति उनको भारतीय नागरिकहरुबाट चर्को आलोचना भयो । नेपालको राजनीतिकवृत्तमा मनिषा फेरि चर्चामा पुगिन् । उनी राजनीतिमा आउने चर्चा पनि भयो । तर, उनले राजनीतिमा कदापि नआउने बताइसकेकी छिन् । यद्यपि, उनी राजनीतिमा आउने ढोका भने पूर्ण रुपमा बन्द भएको छैन ।

अहिले मनिषा मुम्बईबाट काठमाडौं स्थल मार्गबाट फर्किएकी छिन् । लामो यात्राबाट उनी परिवारसहित फर्कनुलाई अर्थपूर्ण मानिएको छ । यसले पनि चर्चा पाएको छ ।

मनिषा कुनै समय राजसंस्थाको पक्षमा बोलेर चर्चामा आएकी थिइन् । उनी र परिवारको सम्बन्ध तत्कालिन राजपरिवारसँग भएको विषय नउठेको होइन । उनका बाबु प्रकाश कोइराला राजसंस्थाका पक्षधर थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री बने । वीपीपुत्र प्रकाशको राजाको शासनकालमा मन्त्री बन्नुलाई आश्चर्य मानियो । त्यसपछि उनको राजनीतिक जीवनमा ठुलो धक्का लाग्यो ।

अहिले कोइराला परिवारको मातृका, वीपी र गिरिजाप्रसाद कोइरालापछिको दोस्रो पुस्तामा डा. शेखर कोइराला, सुजाता कोइराला र डा. शशांक कोइराला सक्रिय राजनीतिमा छन् । उनीहरु काँग्रेसको भावी नेतृत्वको दाबेदार पनि हुन् । त्यसपछिको पुस्तामा सिद्धार्थ कोइराला राजनीतिमा आएपनि त्यति राम्रो संकेत देखिएन । धेरैले मनिषालाई राजनीतिमा ल्याउन चाहे । तर, मनिषाले चाहिनन् । उनले स्वास्थ्यको कारण पनि देखाइन् । अहिले पनि मनिषा स्वास्थ्यको कारण देखाउँदै राजनीतिमा आउन नचाहेको बताउने गरेकी छिन् ।

कोइराला परिवारको ब्रान्ड मनिषासँग छ । त्योमाथि उनी फिल्मी दुनियाँमा छाएकाले चिनिएकी मध्येकी हुन् । उनका लागि राजनीति रगतमै हुनु र पहिचान पनि हुनुले सहज बन्न सक्छ । तर, मनिषा आफैले इच्छा नदेखाइरहँदा त्यो सम्भावना न्युन छ । तर, उनको चाहना भने नभएको होइन । सिमा विवादमा मनिषाले जसरी आफ्नो धारणा बाहिर ल्याइन् त्यसले पनि उनको राजनीतिमा चाहना देखिन्छ ।-File Photo: Agency 



प्रतिक्रिया दिनुहोस्