Logo

‘तराईको राष्ट्रियता कमजोर’ भन्दा एन्फा अध्यक्ष कर्मा शेर्पाको पद धरापमा



काठमाडौं, २२ जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको पद धरापमा परेको छ । उनले साम्प्रादायिक अभिव्यक्ति दिएर विवादमा आइरहँदा देशभित्र र बाहिर समेत उजुरी परेपछि पद धरापमा परेको हो ।

शेर्पामाथि विश्व फुटबलको सर्वोच्च संस्था फिफामा उजुरी परेको छ । मेधशी समुदायको राष्ट्रियतामा कमी छ भनी नेपाली सेनासँग मिलेर राष्ट्रियगान सिकाउने अभिव्यक्ति सार्वजनिक भएपछि उनी विवादमा परेका थिए । उनको अभिव्यक्ति सप्रमाण फिफामा उजुरीका लागि पुगेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफामा ४ जेठमा उजुरी दिएका हुन् ।

एन्फाको विधानमा जातीय तथा साम्प्रादायिक भावनाले कुनै पनि गतिविधि र अभिव्यक्ति दिन नपाइने उल्लेख छ । फिफाले त जातीय विभेद, रङ्गभेद र साम्प्रादायिक गतिविधि गर्नेमाथि कारबाहीको नियम बनाएको छ । फुटबल खेलाडी मात्र नभई दर्शकले समेत यस्ता गतिविधि गर्न पाउँदैनन् । गरेमा कडा कारबाही हुन्छ । त्यसमाथि नेपालको फुटबलको सर्वोच्च संस्था एन्फा अध्यक्षले यस्तो अभिव्यक्ति दिनुले कारबाहीको सम्भावना देखिएको छ ।

यसैगरी एन्फाका पूर्व अध्यक्ष गणेश थापाले हालका अध्यक्ष शेर्पामाथि कारबाहीको माग गरेका छन् । उनले विधान विपरित तराईवासीलाई आँच आउने गरी बोलेकाले कारबाही हुनुपर्ने भनिएको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्