Logo

किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन



काठमाडौं, २२ जेठ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोभिड–१९ का कारण समस्यामा परेका किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले समस्यमा परेका वास्तविक कृषकलाई उत्पादनका आधारमा बीउ, मल र प्रविधिमा अनुदान दिन निर्देशन दिएको हो ।

समितिको आज बसेको बैठकले राष्ट्रिय आवश्यकता र स्थानीय सम्भाव्यताको आधारमा उत्पादकत्व अभिवृद्धि गर्दै ठूलो परिमाणमा एक स्थानमा एउटा बालीको खेती गरी कृषि वस्तुको उत्पादन वृद्धि गरी कृषिलाई आयमुलक, आधुनिक र मर्यादित पेशा तथा उत्पादनशील व्यवसायको रुपमा विकास गर्न निर्देशन दिएको छ ।

त्यस्तै, तरकारी तथा फलफुल नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न समेत निर्देशन दिएको छ । बैठकको निर्णय सुनाउँदै समितिका सभापति पूर्णकुमारी सुवेदीले किसानका तरकारी निर्वाध ओसारपसार गर्ने व्यवस्था मिलाउन र तरकारी तथा फलफुल नष्ट गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्