Logo

भारतको उडिसाका ११ जिल्लामा जुन महिनाका हप्तान्तमा बन्द हुने



२२ जेठ : भारतको ओडिसा राज्य अन्तर्गतका ११ जिल्लामा जुन महिनाभर हप्तान्तका दुई दिन बन्द रहने बताइएको छ ।बन्दलाई कायमै राख्न लागिएका जिल्लाहरुमा गन्जम, पुर, नयाँगढ, खोर्दा, कुटटक, जगतसिंहपुर, केन्द्रपडा, जाजपुर, भाद्रक, बालासोर र बालाङगीर रहेका छन् ।

ती जिल्लाहरुमा हप्तान्तका दुई दिनमा अत्यावश्यक सेवा तथा कार्यका लागि मात्रै खुल्ला गर्ने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण थप फैलिनसक्ने खतराका कारण ती जिल्लाका विद्यालय, कलेज, शैक्षिक संस्थाहरु, तालिम केन्द्रहरु, कोचिङ्ग सेन्टरहरु त झन आगामी जुलाई ३१ तारिखसम्म नै बन्द हुनेछन् । माथि उल्लेखित जिल्लाहरुमा जुन महिनाको हरेक शनिबार र आइतरबार पूर्ण रुपमा बन्द गर्न सरकारले बाध्य पार्ने निर्णय गरेको जनाइएको छ ।

राज्यको सूचना तथा प्रकाशन सम्वन्ध विभागले दिएको जानकारी अनुसार ती जिल्लाका सवै सरकारी कार्यालयहरु यही जुन ६ र ७, १३ र १४, २० र २१ र २७ देखि २८ तारिखसम्म बन्द हुने भएका हुन् ।“अत्यावश्यक सेवा अन्तर्गत पर्ने, स्वास्थ्यकर्मी, प्रहरी, अग्नि नियन्त्रक, दुरसञ्चारकर्मी, सरसफाईकर्मीलाई भने कुनै रोक तोक हुनेछैन,” विभागका एक अधिकारीले भने ।

अति आवश्यक सेवाका लागि आवत जावत गर्नेहरुले पनि प्रहरीलाई आधिकारीक परिचयपत्र देखाउनु पर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।सार्वजनिक पार्कहरु भने हप्तान्तका दुई दिन बाहेक अन्य दिन खोल्न दिइने उडिसा सरकारले व्यवस्था गरेको छ ।

उडिसा राज्यमा अहिले ९६३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने एक हजार ४१६ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी सात जनाको मृत्यु भएको छ भने एक हजार ३२६ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।एएनआई



प्रतिक्रिया दिनुहोस्