Logo

दशै जना सङ्क्रमित धौलागिरि अस्पतालमा



बलेवा, २२ जेठ : धौलागिरि अस्पतालको आइसोलेशन भरिएपछि वैकल्पिक स्थानको खोजी गरी सङ्क्रमितको उपचार गर्ने जिल्ला कमाण्ड पोष्टको योजना असफल भएको छ । आज दशजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सदरमुकाम बाहिरैका स्वास्थ्य संस्था वा उपयुक्त ठाउँमा आइसोलेशन बनाएर बिरामीको उपचार गर्ने योजना बनाएको जिल्ला कमाण्ड पोष्टले अहिलेसम्मका सबै बिरामीको उपचार धौलागिरी अस्पतालमानै गर्ने निर्णयमा पुगेको हो । कमाण्ड पोष्टको निर्णयसँगै दशै सङ्क्रमितलाई धौलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । जिल्लाको बडिगाड गाउँपालिकाका चार जना भने अस्पताल आइसकेका छन् ।

स्थानीय तहले पूर्वाधार र जनशक्तिसमेत नरहेको भन्दै असहमति जनाएपछि विकल्पको खोजी गर्ने विकल्पसहित अहिलेका लागि धौलागिरी अस्पतालमानै आइसोलेशन विस्तार गरेर सबै बिरामीलाई यहीँ राख्ने कमाण्ड पोष्टले निर्णय गरेको छ । जिल्ला कमाण्ड पोष्टको आज बसेको बैठकले अस्पतालमा १२ बेडको क्षमता रहेकाले १२ बेड थप गरी पुष्टि भएका १० जनालाई अस्पतालमा राख्ने निर्णय गरेको हो । अस्पतालमा थप १२ बेड आइसोलेशन बनाउने निर्णय भएसँगै प्रसूति वार्ड खाली गरी आइसोलेशन बनाइएको अस्पतालले जनाएको छ ।

प्रसूति वार्ड सामान्य कोठामा व्यवस्थापन गरेर आइसोलेशन बनाइएको सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । यस्तै जिल्ला कमाण्ड पोष्टले अस्पतालमा २४ बेडको आइसोलेशन र बागलुङका स्थानीय तहको समन्वय र व्यवस्थापनमा धौलागिरी बहुमुखी क्याम्पस, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नरेठाँटी उपस्वास्थ्य चौकी भवन र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा ८६ बेडको प्रि–आइसोलेशन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।रासस File photo



प्रतिक्रिया दिनुहोस्