Logo

नेपालमा ‘हिन्दुराष्ट्र’ का लागि ‘योगी कार्ड’ को प्रयोग होला ?



रिपोर्टर्स नेपाल, २२ जेठ । योगी आदित्यनाथको नेपालसँग निकै नजिकको सम्बन्ध छ । भारत उत्तर प्रदेशको गोखरनाथ मठका महन्थ उनी नाथ समुदायका हुन् । नेपालको नाथ समुदाय र भारतको नाथ समुदायबीच साइनो छ । त्यसमाथि गोरखाका तत्कालिन राजा पृथ्वीनारायण शाहको गोरखनाथ मठका महन्थसँग विशेष सम्बन्ध थियो ।

नेपालमा धर्मनिरपेक्ष भएकोमा गोरखनाथका महन्थ योगी आदित्यनाथ सन्तुष्ट थिएनन् । उनी एक समय नेपाल भ्रमणमा आएर त्यसबारे असन्तुष्टि पोखे । आदित्यनाथ धेरैलाई आश्चर्यचकित पारेर उत्तर प्रदेशको मुख्यमन्त्री बने । उनले पदमा पुगेपछि नेपालको राजनीतिक प्रणालीप्रति खुलेर कुनै धारणा सार्वजनिक गरेका छैनन् । तर, उनको नेपालबारे चासो बेला बेलामा प्रकट हुँदै आएको छ ।

योगी आदित्यनाथले नेपाल र भारतबीच सिमा विवाद भइरहँदा हिजो नेपालबारे बोले । नेपालमा चीनको प्रभाव बढिरहेको विषयबारे भारतका सामरिक मामलाका जानकारहरुले बोलिरहँदा योगीले नेपाललाई तिब्बतले जस्तै गल्ती नदोहोर्याउन भने । उनले लखनऊमा केही पत्रकारहरुसँग नेपालले सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्धलाई भुल्न नहुने बताए । उनको भनाई नेपालले चीनको सहयोग लिन खोजेको तर्फ लक्षित थियो ।

विगतमा तिब्बतले बाह्य शक्तिसँग जुध्न चीनको सहयोग लिंदा तिब्बतमाथि शासन कायम गरेको थियो । उक्त घटनापछि तिब्बतको स्वतन्त्रता खोसिएको थियो । योगीले त्यही इतिहासतर्फ संकेत गरेका थिए । योगीले नेपला र भारत दुई देश भएपनि एउटै आत्मा भएको बताए ।
यसैगरी, भारतमा नेपाल मामलामा लिइने कदमबारे चासो बढिरहेको छ । नेपालका लागि भारतका पूर्व राजदुत देखि नेपाल मामलाका जानकारहरुसम्मले बोलिरहेका छन् । कतिपयले सन् १९५० को सन्धी खारेजीसम्मकोे विषय उठाएका छन् । त्यसमध्ये सामरिक मामलाका जानकार सी राजामोहन छन् । तर, त्यो तत्काल सम्भव देखिएको छैन ।

भारतले नेपाल मामलामा योगी कार्ड प्र्र्रयोग गर्र्र्नसक्ने चर्चा पनि छ । भारतको मध्यदक्षिणपन्थी डिजिटल पत्रिका टीएफआइपोष्टले मोदीले योगी कार्ड प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । यसको अर्थ मोदीको गोरखनाथ पीठको नेपालको पीठसँगको सम्बन्ध र धार्मिक विषय बुझ्न सकिन्छ । यसलाई कतिपयले भारतले कोर्स करेक्शन गरी हिन्दु राष्ट्र ल्याउन खोजेको रुपमा पनि बुझ्न थालेका छन् ।

यसैगरी, नेपाली काँग्रेका सांसद डा. अमरेश सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नै हिन्दु राष्ट्र ल्याउन लागिपरेको टिप्पणी गरेका छन् । मोदीले भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख राममाधवसँग भेटी हिन्दु राष्ट्रको प्रतिवद्धता जाहेर गरेको दाबी गरेका छन् । अमरेश सिंहबाट उठेको विषयलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि भारतका पूर्व जनरल गगनदिप बक्सीले नेपालमा हिन्दु राष्ट्र ध्वस्त पार्न कम्युनिस्टको प्रयोग भारतका लागि आत्मघाती गोल सावित भएको टिप्प्णी गरेका थिए । उनले भारतले नै गम्भीर गल्ती गरेको बताएर तरंग ल्याइदिएका थिए ।



प्रतिक्रिया दिनुहोस्