Logo

कृषि उत्पादन आपूर्ति सुधार्न किसान तथा व्यवसायीको आग्रह



काठमाडौँ, २३ जेठ । देशमा साढे दुई महिनादेखि गरिएको बन्दाबन्दीको सबैभन्दा बढी मारमा किसान परेका छन् । तरकारी बिक्री गरेर कमाउने बेलामा तरकारीले बजार नपाउँदा बारीमै सडाउनुपर्ने अवस्थाबाट अहिले किसान गुज्रिएका छन् ।

कतिपय स्थानीय सरकारले एक स्थानीय तहको तरकारी अर्को स्थानीय तहले भित्र्याउन निषेध मात्रै गरेनन् तरकारी नै नष्ट गर्ने कामसमेत गरे । यस्ता गतिविधिले किसानलाई कृषिप्रतिको वितृष्णा जगाएको छ । यस्तैमध्येका हुन्, तरकारीको पकेट क्षेत्र मानिने काभ्रे पाँचखालका स्थानीय तरकारी उत्पादनक किसान माधव तिम्लिसिना ।

उनको यस क्षेत्रमा लागेको झन्डै डेढ दशकको अनुभवमा तरकारी उत्पादन गरेर बजारै नपाएर बारीमै तरकारी सडाउनु परेको पहिलोपटक हो । किसान तिम्लिसिनाले यसअघि तरकारीमा रोग कीरा लाग्ने, मौसमले साथ नदिनेजस्ता धेरै समस्या भोगे पनि अहिलेजस्तो बजार नपाएर बारीमै सडाउनुपर्ने अवस्था नआएको अनुभव सुनाएका छन् ।

अघिल्लो वर्ष यही बेलामा झन्डै १२ लाख रुपियाँको तरकारी बिक्री गरेका छन् । उनले अहिले १२ हजारको तरकारी पनि बिक्री गर्न नसकेको दुःखेसो गरेका छन् । “धेरै तरकारी बारीबाटै उठ्दैन । उठेको तरकारीको पनि मूल्य छैन,” तिम्लिसिनाले भने, “पहिले क्यारेटको दुई हजार रुपियाँसम्म लिएको गोलभेँडाको भाउ अहिले क्यारेटको मुस्किलले २०० रुपियाँ पाउन पनि गाह्रो छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्