Logo

नाच्दै, गाउँदै तनाव भगाउँदै



काठमाडौँ, २३ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् ।

भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् । नगरपालिकाले क्वारेन्टिनमा रहेकालाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको छ ।

आयुर्वेद शाखाले क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउन योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिएका छन् । क्वारेन्टिनमा बस्दा मानसिक र शारीरिकरूपमा सन्तुलन कायम गर्नका लागि योग प्रशिक्षण गराउन थालिएको उनले बताएका छन् । उनका अनुसार क्वारेन्टिनमा बस्दै आएकालाई हरेक दिन गरिने योगाभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र उत्प्रेरणाले रोगविरुद्ध लड्ने क्षमता बढाउन मद्दत पुग्नेछ ।

“क्वारेन्टिनमा बस्दै आएकालाई रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुमा सकरात्मक सोचको विकास गर्न योगले सहयोग पु¥याउने विश्वास लिइएको छ”, कुमालले भने । उनका अनुसार क्वारेन्टिनमा बसेकालाई रोगप्रतिरोधात्मक शक्ति बढाउने औषधिसमेत वितरण गरिएको छ । उक्त क्वारेन्टिनमा १८ जना छन् । क्वारेन्टिनमा बसिरहेकाले गीत सङ्गीतको माध्यमबाट योगसम्बन्धी प्रशिक्षण दिन थालेपछि खुशी व्यक्त गरेका छन् । क्वारेन्टिनमा बस्दा मानसिक तनाव हुने भएकाले योगले तनाव व्यवस्थापन गर्न मद्दत पुग्ने उनीहरुको विश्वास छ ।

शुक्लागण्डकी नगरपालिकाले गाउँफर्कोदय माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, तालवेशी माध्यमिक विद्यालय र खैरेनीर माध्यमिक विद्यालयमा क्वारेन्टिनमा बनाएको छ । गाउँफर्कोदय माविमा २०, जनकल्याण माविमा १६ र खैरेनी माविमा १८ गरी ५४ जना क्वारेन्टिनमा छन् । तालवेशी माविमा रहेका १६ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि एघारौँ दिनपछि उनीहरुलाई घर पठाइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्